काठमाडौं– कोरोना महामारीको हटस्पट बनेको भारतमा दैनिक संक्रमण क्रमशः तल झरिरहेको छ । पछिल्लो साता परीक्षण भएका कुल नमुनामध्ये १०.४२ प्रतिशतमा मात्र कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो २४ घन्टामा त्यहाँ १ लाख ७३ हजार ७९० नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो संख्या पछिल्लो ४८ दिनकै सबैभन्दा कम हो ।

पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख नाघेको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार यो महिनामा दैनिक संक्रमित संख्या दुई लाखभन्दा तल झरेको यो तेस्रो पटक हो ।

शनिबार बिहान ८ बजेट अध्यावधिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ ३ हजार ६१७ जनाको निधन भएको छ । अब भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन लाख २२ हजार ५१२ पुगेको छ । सक्रिय संक्रमितको संख्या २२ लाख २८ हजार ७२४ छ । यो कुल संक्रमितको ८.५ प्रतिशत हो । २ करोड ५१ लाख ७८ हजारले कोरोना जितेका छन् । यसले भारतको संक्रमणमुक्त हुने दरलाई ९०.३ प्रतिशत पुर्याएको छ ।

विगत १६ दिनदेखि भारतमा नयाँ संक्रमण संख्यालाई संक्रमणमुक्त हुने संख्याले उछिनेको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो साता परीक्षण गरिएका मध्ये १०.४२ प्रतिशतमा मात्र पोजेटिभ देखिएको छ ।

नेपालमा भने संक्रमण दर अझै पनि ३० प्रतिशतभन्दा माथि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय