काठमाडौं– दर्ता भएको सवारी साधनको संख्या ३९ लाख ८७ हजार २६७ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७–०७८ को आर्थिक सर्वेक्षणमा चालु आवको फागुनसम्ममा थप एक लाख ५० हजार ७६५ नयाँ सवारी साधन दर्ता भएको उल्लेख छ ।

गत आवको अन्त्यसम्ममा ३८ लाख ३६ हजार ५०२ सवारी साधन दर्ता थिए । तीमध्ये मोटरसाइकलको संख्या सबैभन्दा बढी छ । गत फागुनसम्ममा जम्मा सात हजार ६९४ सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । सवारी साधनको दर्ता प्रणालीलई अन्तर्राष्ट्रिय स्तरको बनाउन सुरु गरिएको सो नम्बर प्लेट केही वर्ष रोकिएकामा गत आबमा पुनः शुरु गरिएको हो ।

सरकारले हालसम्ममा जम्मा २० लाख ८७ हजार ६८३ सवारी चालक अनुमतिपत्र (इलेक्ट्रिोनिक स्मार्ट कार्ड) वितरण गरिसकेको छ । गत आवसम्ममा जम्मा १८ लाख १३ हजार २९१ अनुमतिपत्र वितरण भएकामा चालु आबको फागुनसम्ममा थप दुई लाख ७४ हजार ३९२ थप वितरण भएको हो ।

सरकारले वीरगन्ज–नारायणगढ सडक खण्डमा दुर्घटना व्यवस्थापन प्रणाली सञ्चालन गरिसकेको छ । उक्त प्रणाली प्रदेश नम्बर २ र वाग्मती प्रदेशमा समेत विस्तारको प्रक्रिया अघि बढाइएको छ ।

कुल सवारी साधनमा झण्डै ८० प्रतिशत मोटरसाइकल छन् । मन्त्रालयका अनुसार गत फागुनसम्म दर्ता भएका सवारी साधनमा मोटरसाइकलको हिस्सा ७९.३ प्रतिशत छ । सार्वजनिक यातायातका साधनको हिस्सा १.४ प्रतिशत मात्रै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय