
काठमाडौं– सरकारले निषेधाज्ञा अवधिभरका लागि सर्वसाधारणलाई विभिन्न छुट दिने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा बिजुली, पानीको महसुल, ग्यास, खाद्यान्नमा छुट दिने घोषणा गरेका हुन् ।
उनका अनुसार मासिक २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले निषेधाज्ञा अवधिभर पूरै महसुल छुट पाउनेछन् । मासिक १ सय ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट हुने उनले बताए ।
निषेधाज्ञा अवधिभर सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीले बिक्री गर्ने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासमा पनि २० प्रतिशत छुट दिने उनले घोषणा गरे ।
साझेदारी, सहकारी तथा सबै प्रकारका खानेपानी तथा सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने बिजुलीको डिमान्ड चार्ज र महसुल पूरै छुट दिने घोषणा गरिएको छ ।
उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र क्षेत्रलाई निषेधाज्ञा अवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने भनिएको छ । मासिक २० हजार लिटरसम्म खानेपानी प्रयोग गर्दा महसुल छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।