नयाँ दिल्ली– कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट निकै प्रभावित रहेको भारतमा पछिल्लो २४ घन्टामा संक्रमितको संख्यामा उच्च गिरावट आएको छ ।

गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारेको भारमा पछिल्लो २४ घन्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो सहित भारतमा आइतबारसम्म कुल संक्रमितको संख्या दुई करोड ७९ लाख पुगेको छ । त्यसैगरी, सक्रिय संक्रमितको संख्या भारतमा २१ लाख १४ हजारमा झरेको छ । २४ घन्टामा एक लाख १४ हजारले सक्रिय संक्रमितको संख्यामा कमी आएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म दुई करोड ५५ लाख व्यक्ति कोेरोना संक्रमणमुक्त भएका छन् ।

तर भारतमा कोभिड–१९ को संक्रमणबाट भइरहेको दैनिक मृत्यु दरमा सामान्य गिरावट आए पनि तिब्र सुधार हुन सकेको छैन । मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा तीन हजार ४६० जनाको ज्यान गएको छ । यो सहित भारतमा कुल मृतकको संख्या तीन लाख २५ हजार ९७२ पुगिसकेको छ ।

कोरोनाभाइरस महामारीबाट आम जनतालाई सुरक्षित राख्न गत जनवरीदेखि नै खोप अभियान सञ्चालन गरिरहेको भारतले देशभर हालसम्म २१ करोड २० लाख डोज खोप लगाएको छ ।

शनिबार एकै दिन भारतमा ३० लाख भन्दा बढी व्यक्तिलाई खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतले हाल १८ वर्षभन्दा माथिको उमेर समूहका सबै व्यक्तिलाई खोप दिइरहेको छ । तर खोपको माग तिब्र भए पनि आपूर्ति त्यस अनुरुप हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, भारत सरकारले देशभर कोभिड–१९ को परीक्षणलाई तिब्र बनाएको छ । शनिबारसम्म भारतमा ३४ करोड ३२ लाख नमुना परीक्षण गरिएको छ जसमध्ये शनिबार एकै दिन २० लाख ६३ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय