बेइजिङ– चीनले हरेक दम्पतीलाई तीनवटासम्म सन्तान जन्माउन अनुमति दिने घोषणा गरेको छ । योसँगै चीनको कसिलो दुई सन्तान नीतिको अन्त्य हुने देखिएको छ ।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार कानुनमा गरिएको उक्त परिवर्तनलाई राष्ट्रपति सी चिनफिङले पार्टीको पोलिब्युरो बैठकमा अनुमोदन गरेका हुन् ।

१० वर्षमा हुने जनगणनाले चीनको जनसंख्या वृद्धिदर निकै कम गतिमा भइरहेको देखाएपछि यस्तो निर्णय सार्वजनिक भएको छ ।

जनगणनासँगै बेइजिङमाथि घट्दो जनसंख्याको स्थिति उल्टाउन दम्पतीलाई थप सन्तान जन्माउन प्रोत्साहित गर्ने उपायहरु ल्याउन दबाब परेको थियो ।

यसै महिनाको सुरुतिर सार्वजनिक चीनको जनगणनाको नतिजाले पछिल्लो वर्ष करिब एक करोड २० लाख शिशु जन्मेको देखाएको छ । यने सन् २०१६ को एक करोड ८० लाखको तुलनामा निकै कम हो ।

गत वर्षको जनसंख्या वृद्धि सन् १९६० यताकै सबैभन्दा कम हो । जनगणनाको विवरण सार्वजनिक भएसँगै चीनले परिवार नीतिलाई खुकुलो बनाउने अपेक्षा गरिएको थियो ।

सन् २०१६ मा चीन सरकारले विवादास्पद एक सन्तान नीति हटाउँदै एक दम्पतीलाई दुईवटासम्म सन्तान जन्माउने अनुमति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय