नयाँ दिल्ली– भारतमा विगत २४ घन्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो ।

भारतमा यो सहित कुल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये दुई करोड ७० लाख संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घन्टामा थप दुई हजार ६७७ जनाको ज्यान गएको मन्त्रालयको भनाई छ ।

यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख ४६ हजार ७५९ पुगेको छ । भारतमा अझै पनि १४ लाख ७८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घन्टामा कुल सक्रिय संक्रमितको संख्यामा ७७ हजारले कमी आएको छ ।

विगत केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ । गत जनवरी १६ बाट खोप लगाउन थालेको भारतमा हालसम्म २३ करोड १० लाख डोज खोप लगाइएको छ ।

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३६ करोड ४० लाख नमुना परीक्षण गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय