काठमाडौं– दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये ५१ वटामा गरिने लगानी जोखिमपूर्ण भन्दै धितोपत्र बोर्डले सार्वजनिक गरेको धारणाप्रति निजी क्षेत्रका तीनवटा संस्थाले आपत्ति जनाएका छन् ।

बोर्डको भनाइमा आपत्ति जनामाउनेमा नेपाल उद्योग परिसंघ, बैंक तथा वित्तीय संस्था परिसंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघले बिहीबार एक विज्ञप्ति जारी गरी धितोपत्र बोर्डले ५१ सूचीकृत कम्पनीबारे सार्वजनिक गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बोर्डले असार १ मा प्रेस विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको बताएको थियो ।

वित्तीय संस्था परिसंघले भनेको छ, ‘व्यक्ति एवं समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाको कामकारवाहीको बृहत् अध्ययन, अनुगमन र मूल्यांकन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भए आन्तरिक रुपमा सचेत गराउनु वा कारवाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी ठहर्छ ।’

सम्बन्धित संस्थाको आर्थिक विश्लेषण गरी लगानीसम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्तालाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्ने भन्दै परिसंघले भनेको छ, ‘संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौं लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारवाही अगाडि बढाउँदा समग्र लगानीकर्ताको हित हुनेछ ।’

त्यसैगरी इप्पानले २१ वटा जलविद्युत् कम्पनीको लगानीलाई बोर्डले जोखिमपूर्ण भनेकोमा आपत्ति जनाएको छ । इप्पानले बिहीबार एक विज्ञप्ति जारी गर्दै बोर्डको धारणामा आपत्ति जनाएको हो ।

धितोपत्र बोर्ड आफैंले सेयर निष्कासन अनुमति दिएर सूचीकृत भएका जलविद्युत् कम्पनीको प्रकृतिलाई ख्यालै नगरी मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई मात्र आधार बनाएर दोस्रो बजारमा कारोबार भइरहेका २१ जलविद्युत् कम्पनीमा गरिएको लागानीलाई जोखिमयुक्त भनेकोमा गम्भीर ध्यानाकर्षण भएको इप्पानले जनाएको छ ।

इप्पानले जलविद्युत् कम्पनीमा लगानी जोखिमपूर्ण भन्दै विज्ञप्ति निकालेर धितोपत्र बोर्डले कसको पक्षपोषण गर्न खोजेको हो, स्पष्ट पार्न अनुरोध गरेको छ । धितोपत्र बजारमा अहिलेसम्म ४० वटा जलविद्युत् कम्पनीहरु सूचीकृत छन् । बोर्डले जलविद्युत्का २१ सहित ५१ वटा कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण हुने भन्दै विवरण सार्वजनिक गरेको थियो ।

निजी क्षेत्रको अर्को ठूलो संस्था नेपाल उद्योग परिसंघले पनि धितोपत्र बोर्डले लगानीका लागि जोखिमयुक्त भन्दै सूचीकृत कम्पनीको नाम सार्वजनिक गर्दा लगानीकर्ताको मनोबल घट्न गई समग्र पुँजी बजारमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै संवेदनशील विषयमा नियमनकारी निकायले परिपक्व भूमिका खेल्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय