काठमाडौं– लगानी बोर्डको पछिल्लो बैठकले विभिन्न परियोजनामा गरी ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ४७औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

उक्त बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत् परियोजना (२८५ मेगावाट) र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजना (१३९.२ मेगावाट) गरी दुईवटा परियोजनाको करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ ।

बैठकले सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क (चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौता (पिपिए) को लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभिएन लिमिटेड इन्डियासँग गरिने समझदारी–पत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टतालाई सम्बोधन गरी आवश्यक कानुनी सुधार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

साथै, बैठकले पश्चिम सेती र एसआर–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ । यसैगरी, बैठकले अरुण ३ जलविद्युत् परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङक्ुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि, २०७८ स्वीकृत भएको छ ।

उक्त अवसरमा प्रधानमन्त्रीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादन सँगसगै प्रसारण प्रणाली समेतको निर्माण कार्य अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिए । उहाँले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

उक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेस गरिएका प्रस्तावहरु मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने देखिएको बताउँदै बोर्डका निर्णयहरुको प्रभावकारी कार्यान्वयमा ध्यान दिनुपर्नेमा जोड दिए ।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृतसुशील भट्टले जानकारी गराएका थिए ।

उक्त अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शरतसिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ, वन तथा वातावरण मन्त्री नारदमुनि राना, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्डका विज्ञ सदस्य हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ, आमन्त्रित सदस्य बालकृष्ण शिवाकोटी लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको बोर्डका प्रवक्ता भूपाल बरालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय