काठमाडौं– उद्योपति विनोद चौधरीले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउने विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । चौधरीले छिमेकी मुलुक भारतले नोभेम्बरभित्र सम्पूर्ण नागरिकलाई भ्याक्सिन लगाउने घोषणा गरिसकेको भन्दै हाम्रोमा भने टुंगो नभएको बताए ।

‘विभिन्न ठाउँमा पत्र पठाएकोमा सरकार रमाइरहेको छ, तर भ्याक्सिन आउन सकेको छैन,’ नेपाली कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा चौधरीले भने, ‘बजेट समेत ‘छुट्ट्याइएको अवस्थामा बिचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु दुर्भाग्यपूर्ण छ ।’

उद्योगपति चौधरीले सात प्रतिशत मात्रै विकास खर्च गर्ने र ९३ प्रतिशत चालु खर्च हुने परिपाटी नबदलेसम्म मुलुकको विकास नहुने बताए । अहिले सरकारले कतिवटा लाइसेन्स गयो भनेर विदेशी लगानीको हिसाब गरेर बसेको तर विशेष अर्थिक क्षेत्र (सेज) रित्तै हुनुले पनि उद्योग फस्टाउनमा सरकारले कति भूमिका खेलेको छ भन्ने कुरा प्रस्ट भएको चौधरीले बताए ।

नेपाल उद्योग वाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले सरकारले खोप ल्याउन नसके मुलुकको अर्थतन्त्रमा असहज अवस्था आउने बताए ।

कोभिड–१९ को यस्तो समस्यामा समेत निजी क्षेत्रले आपूर्ती व्यवस्थालाई सहज बनाइरहेको तर राज्यले गर्नुपर्ने काम भने नगरेको गोल्छाले आरोप लगाए । ‘धेरै भन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ घरमा थुनेर समस्या समाधान हुँदैन,’ गोल्छाले भने ।

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटन क्षेत्रमा लागेका १५ लाख मानिस अहिले बेरोजगार भएर बसेको अवस्था रहेको बताए । अव भ्याक्सिन लगाएर मुलुक खुल्यो भन्ने अवस्था नआएसम्म पर्यटक नआउने भएकाले सरकार त्यसमा केन्द्रित हुनुपर्ने शेर्पाले बताए ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लकडाउनकै बीचमा सरकारले असार २५ भित्र कर तिर्न सूचना निकालेर बस्नु गलत भएको बताए । ‘कोभिड–१९ को कारण उद्योग र व्यवसाय क्षेत्रमा कति असर परेको छ भन्ने सरकारले कल्पना समेत गर्न सक्दैन,’ मल्लले भने । पहिले भ्याक्सिन दिएर मात्र अन्य कुरातर्फ लाग्न मल्लले आग्रह गरे ।

बैंकमा समेत तरलता आइसकेको अवस्थामा सरकारले विकास बजेट खर्चमा केन्द्रित हुनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । मंसिरदेखि जेठसम्म निर्माणको काम हुने तर सरकारले दुई वर्षदेखि सोही समयमा बन्द गर्दा काम हुन नसकेको सिंहले बताए । ‘पुँजीगत खर्च नहुनुमा सरकारले म्याद थपको काम नगर्दा समस्या आएको छ, काम गर्ने समयमा गर्न नपाएपछि म्याद थपको विकल्प हुँदैन,’ सिंहले भने ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रवराज थापाले अहिले ३० प्रतिशत उद्योग बन्द रहेको र ७० प्रतिशत चलेका उद्योग पनि ३० प्रतिशत क्षमतामा मात्रै चलेको बताए । पाँच अर्बभन्दा बढी ऋण लिएका उद्योगलाई पाँच करोड पुनर्कर्जा दिएकोले लगानी अनुसार कर्जा प्रवाह गर्नुपर्नेमा थापाले जोड दिए ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई धराशयी बनाएको बताए । उनले नेपालले खोप अझै लगाउन नसक्ने अवस्थामा एक वर्ष समस्या आउने देखिएको बताए । ‘राजस्वमा योगदान गर्न उद्योगलाई चलायमान गराउने एकमात्र विकल्प भ्याक्सिन हो,’ अग्रवालले भने ।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले अहिलेको सरकारबाट केही पनि आशा गर्ने ठाउँ नभएको भन्दै यो सरकारको बहिर्गमननै पहिलो सर्त भएको बताए । व्यवसायीले उठाएका माग पूरा गराउन सरकारलाई दबाब दिने समेत महतले बताए । ‘सरकार कुरा गर्छ, काम गर्दैन तर बहुमत प्राप्त गरेको दिनदेखि जनताको सेवाभन्दा आफ्नो सेवामा लागेको छ,’ महतले भने ।

नेपाली कांग्रेस केन्द्रीय उद्योग व्यापार विभागका सभापति चिनकाजी श्रेष्ठले कांग्रेसले यस्तो छलफल जारी राख्दै मुलुकको अर्थतन्त्र चलायमान गराउन केन्द्रित हुने बताए । ‘व्यवसायीको माग सम्बोधन गर्न दबाब दिन्छौं,’ श्रेष्ठले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय