काठमाडौं– क्यानडाको ब्राम्टनमा बस्दै आएका एकजना नेपाली मित्र काफ्लेले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’ पाएका छन् ।

स्थानीय सरकारबाट हरेक वर्ष प्रदान गरिने यो अवार्ड अन्तर्गत यो वर्ष कोभिड–१९ को बेला उत्कृष्ट नागरिकहरु विधा थप गरिएको थियो । काफ्लेले सोही अवार्ड प्राप्त गरेको बताइएको छ ।

सिटी अफ ब्राम्टनका मेयर प्याट्रिक ब्राउनले उक्त अवार्ड प्रदान गरेका थिए । सिटिजन अवार्ड अन्तर्गतको यो विधाको अवार्ड काफ्लेसहित ७ जनाले प्राप्त गरेका छन् ।

अल्भिन लाउरडेस, अमनप्रित ब्रअर, अमिक सिंह, गिल डन, जेसिका बार र सर्भान्ती राजहले यो अवार्ड प्राप्त गरेका छन् । वर्ष नागरिक, कला, खेलकुद, आपतकालीन सेवा, प्रेरणादयी, दीर्घकालीन सेवा लगायत विधामा अवार्ड प्रदान गरिएको सिटी अफ ब्राम्टनले जनाएको छ ।

सन् १९७४ देखि नै सिटी अफ ब्राम्टनले समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएका उत्कृष्ट नागरिकहरुलाई यी अवार्डमार्फत सम्मान गर्दै आएको छ । समुदायका नागरिकले विभिन्न क्षेत्रमा गरेको उपलब्धिको सम्मानस्वरुप यो अवार्ड प्रदान गरिन्छ ।

यो अवार्डको छनोट कमिटीमा विभिन्न विधाका विज्ञहरु, समुदायका सदस्यहरु, निर्वाचित स्थानीय जनप्रतिनिधिहरु, ब्राम्टनको फायर एन्ड इमर्जेन्सी सर्भिस, स्वयमसेवक एमबिसी, ब्राम्टन स्पोटर्सस एलायन्स, ब्राम्टन सिनियर काउन्सिल र पिल रिजनल पुलिस रहँदै आएको छ । सिटी अफ ब्राम्प्टन झण्डै ६ लाख जनसंख्या भएको क्यानडाको ओन्टारियो ग्रेटर टोरन्टो क्षेत्रको सिटी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय