ओखलढुंगा– तोकिएको समयअगावै काम सक्ने निर्माण व्यवसायीलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ । आठौं नगरसभाको अवसर पारेर नगरपालिकाले नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरोड)को पहिलो खण्ड निर्माणको काम सक्ने निर्माण व्यवसायी तेजबहादुर भुजेल र सिस्नेखोला पुल बनाउने निर्माण व्यवसायी मोहन कार्कीलाई दिइएको समयभन्दा करिब एक वर्षअगावै योजना सम्पन्न गरेकामा सम्मान गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए । योजना जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारका बीचमा समयअगावै गुणस्तरीय काम गरेर योजना हस्तान्तरण गर्ने ठेकेदारलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको उनको भनाइ छ ।
‘योजना जिम्मा लिएर अलपत्र पारेकै कारण ठेकेदारप्रति सबैको धारणा गलत बन्ने अवस्था छ । वर्षौँ ताकेता गर्दा पनि काम नभएका थुप्रै उदाहरण छन् तर उहाँहरुले समयअगावै राम्रो काम गरेर देखाउनुभयो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘समयभित्रै राम्रो काम गर्ने ठेकेदार पनि छन् भन्ने उदाहरण देखाएकाले उहाँहरुलाई हामीले सम्मान गरेका हौं ।’ ठेकेदार सम्मानले नगर क्षेत्रका अन्य योजना समयमै सक्न अन्य निर्माण व्यवसायीलाई सन्देश दिने उनको भनाइ छ ।
प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले निर्माण व्यवसायीद्वयलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रशंसापत्र प्रदान गरे । उनले निर्माण व्यवसायी इमानदार भए मुलुकले विकासमा छिट्टै फड्को मार्ने बताए । ‘यही जिल्लामा सुनकोसी पुल बनाउन १५–१८ वर्ष लाग्यो । त्यस्तै पुल अहिले एक वर्षमा बन्यो,’ मन्त्री गुरुङले भने, ‘राम्रो काम नगर्ने ठेकेदारविरुद्ध सरकार कठोर भएर लाग्नेछ । अब यो प्रदेशमा जसले काम रोक्छ, उसको भुक्तानी रोकिन्छ ।’ राम्रो काम गर्नेलाई प्रोत्साहन र समयमै काम नगर्ने ठेकेदारलाई कानुनी कारवाही सुरु गर्न मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
विकास निर्माणका आयोजना वर्षौं अलपत्र पर्ने समस्या रहेको ओखलढुंगामा दुईवटा योजना समयअगावै सम्पन्न भएका छन् । मन्त्री गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजनाअन्तर्गत निर्वाचन क्षेत्र नं १ उच्चस्तरीय चक्रपथ (रिङरोड)को पहिलो खण्ड रुम्जाटार–सानीटार, वनपाले–बुलादी, देउराली–फेदे सडक तीन वर्षमा बनाई सक्ने गरी महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न प्रालि बालाजु काठमाडौंले ठेक्का लिएको थियो । २०७८ पुस २१ गतेसम्म म्याद राखेर विसं २०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नौ किलोमिटर ८०० मिटर सडक निर्माणको काम थालेको डेढ वर्ष नपुग्दै सम्पन्न गरेको छ ।
सिस्नेखोला पुल पनि समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । मिलनचोक सपनावती–रुम्जाटार सडकखण्ड अन्तर्गत सिस्नेखोलामा दुई वर्षमा बनाई सक्ने गरी ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो । केएम इन्जिनियर्स बिल्डर्स प्रालि, काठमाडौंले २०७९ असार २४ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ असार २५ नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । उक्त योजना एक महिनाअघि नै निर्माण सम्पन्न भएको छ । समयअगावै निर्माण सम्पन्न भएका दुवै योजना उद्घाटन भइसकेका छन् ।









