काठमाडौं– राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आजबाट व्यावसायिक रुपमा बिजुली उत्पादन गर्दैछ ।
३५ अर्ब लागतमा सम्पन्न गर्ने भनी सुरु गरिएको आयोजनाको लागत बिजुली उत्पादन गर्ने समयसम्म आइपुग्दा बढेर ८० अर्ब पुगेको छ । ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटको बिजुली आज राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार प्रधानमन्त्री केपी शर्मा सोमबार दिउँसो ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
न्यौपानेका अनुसार आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाले आजै विद्युत् गृह रहेको गोंगरदेखि खिम्तीसम्मको ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार ढल्केबर–न्यू खिम्ती सबस्टेसनमा लाइन चार्ज गरेको थियो ।
यस्तै, जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबर जोडिएको छ । आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको र अबदेखि लोडमा चलाइने प्रवक्ता न्यौपानेले जानकारी दिए ।
आयोजनाबाट उत्पादित बिजुली विद्युत् गृह रहेको गोंगरबाट न्यू खिम्ती सबस्टेसन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । यो स्वदेशी लगानीमा निर्मित अहिलेसम्मकै ठूलो आयोजना हो ।
असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट बिजुली उत्पादन गर्ने तयारी छ । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका असार १३ गतेदेखि १९ गतेसम्म तयारी गरिएको थियो । त्यसमा विशेष गरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको डा न्यौपानेले जानकारी दिए ।
माथिल्लो तामाकोसीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेसनमा जोडिएको छ ।
माथिल्लो तामाकोसी आयोजनामा ६ युनिट छन् । सुरुमा ३५ अर्ब लागत अनुमान गरिएकोमा अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याज, ढिलाइ लगायत कारण लागत भने बढेर ८० अर्ब हाराहारी पुगेको छ ।









