काठमाडौं– नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले कोभिडबाट शिथिल अर्थतन्त्रलाई पुनर्जिवित गर्न सक्ने मौद्रिक नीतिको आवश्यकतामा जोड दिएको छ ।

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा सुझाव बुझाउँदै महासंघले अर्थतन्त्रको मुख्य सम्बाहकको रुपमा रहेको उद्योग, व्यापार र व्यवसाय क्षेत्रलाई पुनर्जीवन र पुनरुत्थान गर्न आवश्यक पुँजीको व्यवस्था गरी कर्जाको पुनर्तालिका, पुनरुत्थान कर्जाको व्यवस्था र ब्याजमा छुट तथा सरलीकरण आदिको व्यवस्था हुनुपर्ने माग राखेको छ ।

हजारौं व्यवसायी संलग्न गहना व्यवसायलाई प्रोत्साहन गर्न महासंघले गहना व्यवसायीले वाणिज्य बैंकमा खाता खोल्दाका प्रक्रिया सरल बनाउन, वाणिज्य बैंकले प्रदान गर्ने पुनर्कजा आदिमा आभूषण व्यवसायलाई पनि समावेश गर्न र वाणिज्य बैंकले आर्जन गर्ने वार्षिक मुनाफा रकम मध्येबाट कर्पोरेट सोसल रेसपोन्सिबिलिटी अन्तर्गत कम्तीमा १० प्रतिशत रकम युवा तथा महिला गहना व्यवसायीका लागि सीप विकास तालिम एवं आभूषण व्यवसायमा नै स्वरोजगारीको लागि अनुदान दिने व्यवस्था गर्न भनेको छ ।

गहना निर्माण तालिम लिन चाहने युवा (महिला समेत)लाई सहुलियतपूर्ण सीप विकास ऋणको व्यवस्था गर्न माग गरेको महासंघले सुनमा कायम कोटा हटाउन भनेको छ । वास्तविक मागको सर्भेक्षण गरी आयातको कोटा बढाउनु जरुरी रहेको महासंघको भनाइ छ ।
सुन पैठारीलाई ओपन जनरल लाइसेन्स अन्तर्गत ल्याउन वा कोटा बढाई निजी क्षेत्रलाई पनि पैठारी अनुमति दिने व्यवस्था गर्न महासंघले माग गरेको छ ।

त्यसैगरी, झिटी गुण्टा अन्तर्गत ५०० ग्रामसम्म भन्सार तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्ने र नेपाली नागरिकले विदेशमा बनेका गहना ल्याएमा २५ ग्रामभन्दा बढीकोमा भंसार लिने व्यवस्था गर्न माग गरिएको छ ।

सुनको वितरण प्रणालीलाई विकेन्द्रित गरी मुलुकभरका साना–ठूला सबै व्यवसायीको समान पहूँच स्थापित हुने गरी सरल र सहज तरिकाले आपूर्ति व्यवस्था मिलाउन पनि महासंघले माग गरेको छ ।

वाणिज्य बैंकहरुले सुन बिक्री गर्दा एकै दिनमा पनि बैंकपिच्छे भाउ फरक हुने गरेकोले प्रत्येक दिन सबै बैंकको एउटै भाउ हुनुपर्नेमा जोड दिइएको छ । साथै होल्डिङ तथा सर्भिस चार्ज भनी थप मूल्य लिने गरेकोले सो कार्य अविलम्ब बन्द हुनुपर्ने महासंघको माग छ ।

नेपाल राष्ट्र बैंकले देशका विभिन्न आठवटा वा आवश्यकता परेमा सोभन्दा पनि बढी स्थानबाट वाणिज्य बैंकहरुले सुन बिक्री गर्नुपर्ने भनी कार्यविधिमा नै स्पष्ट उल्लेख गरे तापनि वैंकहरुले काठमाडौंबाट मात्र बिक्री वितरण गरिरहेको प्रति असन्तुष्टि जनाउँदै महासंघले जुनसुकै स्थानबाट खरीद–बिक्री गर्दा पनि एउटै भाउ कायम हुने व्यवस्था गर्न माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय