काठमाडौं– राजधानी उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारी साधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि दुई दिनसम्म उपत्यका बाहिर जानेका लागि समय दिइएकाले चालक, परिचालकलगायत धेरै मानिस स्थायी निवासतिर लागेका थिए । विसं २०७६ चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी गरिएको बन्दाबन्दीका क्रममा बाहिर जाने समय नदिँदा धेरै मानिस अलपत्र बनेका थिए । काठमाडौं उपत्यकामा मजदुरलाई जीवन धान्न पनि धौधौ परेको थियो ।
आन्तरिक उडान खुला भइसक्दा पनि काठमाडौं उपत्यका बाहिर जाने लामो दुरीका सार्वजनिक यातायात नखोल्नु ठिक नभएको बताउँदै महासङ्घले आपत्ति जनाउँदै आएको छ । लामो दुरीका सवारी नखोल्दा यात्रु महँगो भाडा तिरेर नाकानाकासम्म ओहोरदोहोर गर्ने गरेका छन् । यसरी यात्रा गर्न बाध्य बनाउँदा कोरोना संक्रमण अझ बढ्ने महासंघको ठहर छ ।
सरकारले सार्वजनिक यातायातले मात्र कोरोना सार्छ भन्ने जस्तो व्यवहार गरेको अध्यक्ष कर्माचार्य बताउँछन् । सोमबार कोरोना संक्रमितको संख्या बढेकाले मानिसले डराएर सवारी साधन नचलाएको हुन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बिहान अनुगमन गर्दा निकै कम सार्वजनिक सवारी सञ्चालन भएको पाइएको बताउँछन् ।
सार्वजनिक यातायातका तुलनामा निजी सवारी अझै कम चलेका छन् । आज सञ्चालन भएका सवारी साधनको वास्तविक तथ्यांक भने बुधबार बिहान १० बजेपछि मात्र सार्वजनिक हुने महाशाखाले जनाएको छ ।
–––









