पोर्ट–औ–प्रिन्स– राष्ट्रपति जोभेनल मोइजको हत्यापछि संकटको भुमरीमा फसेको क्यारेबियन राष्ट्र हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ र संयुक्त राज्य अमेरिकालाई आफ्नो बन्दरगाह, एयरपोर्ट र अन्य रणनीतिक स्थलहरू सुरक्षित राखिदिन आग्रह गरेको हैटीका एक उच्च अधिकारीले बताएका छन् ।
हैटीका राष्ट्रपति मोइजलाई गत बुधबार गोली हानी हत्या गरिएको थियो । मोइजलाई उनको घरमा गोली हानी हत्या गरिएको दुई दिनपछि संयुक्त राज्य अमेरिकाले एफबिआई र अन्य एजेन्टहरू पोर्ट–औ–प्रिन्स पठाउने कुरा गरिसकेको छ ।
निर्वाचन मन्त्री म्याथियस पियरेले एएफपीसँग भनेका छन्, ‘हैटीका राष्ट्रपति मोइजको हत्याकाण्डपछि सेनाले अराजकता पैदा गर्न केही पूर्वाधार नष्ट गर्न सक्छ भन्ने लागेको छ । अमेरिकी विदेश सचिव र संयुक्त राष्ट्र संघीय अधिकारीबीचको वार्तापछि हामीले हैटी सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध गरेका हौं ।’
अमेरिकी विदेश विभाग र पेन्टागन दुवैले ‘सुरक्षा र अनुसन्धान सहयोग’को लागि अनुरोध प्राप्त भएको पुष्टि गरेका छन् तर शान्ति सेना खटाउने भनेर प्रस्ट सूचना भने दिएका छैनन् । यद्यपि अधिकारीहरू पोर्ट–औ–प्रिन्सको सम्पर्कमा रहेको उनीहरूले बताए ।
संयुक्त राष्ट्र संघले यसबारे तत्काल स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघको कूटनीतिक स्रोतले सुरक्षा परिषद्को प्रस्तावलाई हैटीवासीहरूले भनेको जस्तै गर्न आवश्यक भएको संकेत गरेको थियो ।
वासिङटनले हैटीको अनुसन्धानमा मदत गर्ने आफ्नो इच्छाप्रति संकेत गरिसकेको छ र ह्वाइट हाउसका प्रवक्ता जेन सासाकीले वरिष्ठ एफबिआई र अन्य अधिकारीहरू सकेसम्म चाँडो क्यारेबियन मुलुक हैटीतर्फ लाग्ने शुक्रबार बताएका छन् ।
क्रुर हत्याको योजना कसले बनाए होला भनेर प्रश्नहरू उब्जिएको छ । हत्यामा संलग्न रहेको आरोपमा कोलम्बियाली तथा अमेरिकी केही व्यक्तिहरूलाई हिरासतमा लिइएको छ वा कारबाहीमा मारियो भन्ने सार्वजनिक गरिएको छैन । हत्यापछि केही अमेरिकी तथा कोलम्बियाली सदस्यलाई सुरक्षा नियन्त्रणमा लिइएको सूचना हैटीका सञ्चार माध्यमहरूले बाहिर ल्याएका थिए ।
अनिश्चितताको बीचमा तीन व्यक्तिलाई ११ करोड जनसंख्या भएको देश हैटीको सम्भावित नेताको रूपमा खडा गरिएको छ । त्यहाँ कुनै संसद छैन ।
राष्ट्रपतिको हत्यापछि सुनसान राजधानीमा षड्यन्त्रको अनसमानबीच सडक तथा पसलहरूमा चहलपहल बढेको छ भने सार्वजनिक यातायात पुनः सुरु भएको छ ।
अस्थिरताको संकेतहरू देखिँदा नागरिकहरू सुपरमार्केटमा आधारभूत आवश्यकताका सामान किन्न र भण्डारण गर्न लामबद्ध हुन थालेका छन् । ‘भोलि के हुन्छ हामीलाई थाहा छैन । दुर्दिनको अनुमानबीच नागरिकहरूले आफ्नो छाक टार्ने तयारी गरिरहेका छन्,’ एक स्थानीयले पोर्ट–औ–प्रिन्समा सामान किन्दै गर्दा प्रतिक्रिया दिए ।
विगतमा फ्रान्सको अधिनस्थ यो कोलोनीमा विभिन्न समूहहरूबीच शुक्रबार पनि झडपहरू भएका थिए । यसका कारण राजमार्गहरूसमेत प्रभावित बनेका थिए । यस हत्याको दिन बित्दै जाँदा अफ्रिकाको सबभन्दा गरिब देशका धेरै मानिसहरूले न्यायको माग गरिरहेका छन् ।
राजधानीका बासिन्दाले एएफपीलाई भने, ‘विदेशीहरू यो अपराध गर्नका लागि देशमा आएका थिए । हामी हैटीबासी यसबाट बिचलित भएका छौं । घटनाको पछाडि कसको हात छ हामी यो जान्न चाहन्छौं ।’
प्रहरीले २८ जना कोलम्बियाली तथा अमेरिकी समूहले आक्रमण गरेको तर यसको मुख्य योजनाकारको खोजी भइरहेको प्रहरीले जनाएको छ । छानबीनका लागि मोइजको सुरक्षार्थ खटाइएका सुरक्षा टोलीलाई अदालतमा उपस्थित हुन भनिएको छ ।
हैटीका राष्ट्रपति मोइजको उनकै सुरक्षा सहयोगीद्वारा हत्या भएको हैटीका पूर्व सांसदले यहाँको म्याजिक–नाइन रेडियोसँगको कुराकानीमा बताए । उनले हत्यारा विदेशी नभएको दाबी पनि गरे ।









