महोत्तरी– महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा एक अर्ब ५० करोड लगानीमा नयाँ कागज उद्योग स्थापना हुने भएको छ । सोमबार उक्त उद्योगको शिलान्यास भएको छ ।

आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्प ऐन्ड पेपर इन्डष्ट्रिज प्रालिको शिलान्यास गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिलगोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतले उद्योगमा लगानी गरेका छन् । लगानीकर्ताहरुले सोमबार संयुक्त रुपमा उद्योग शिलान्यास गरेका हुन् ।

आइएमई समूहद्वारा प्रवर्द्धित उक्त उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादन सुरु गरिने जनाइएको छ ।

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने सो अवसरमा जानकारी दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा सयजनाले रोजगारी पाउनेछन् ।

सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए । नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने उनको भनाइ छ ।

नेपालमा ‘फिनिस्ड प्रडक्ट’ नै दिने यस्तो खालको उद्योग पहिलोपटक स्थापना हुन लागेको उनीहरुको भनाइ छ । यसबाट नेपालमा हुने गरेको कागजको आयात प्रतिस्थापन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय