लन्डन– बेलायतमा पुनः कोभिड–१९ का संक्रमितको संख्या बढ्न थालेको बताइएको छ ।

पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति संक्रमणमा परेका हुन् । यहाँ गएको २४ घन्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

यहाँ अहिलेसम्मका संक्रमितको संख्या ५९ लाख ८२ हजार १५२ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घन्टायता यहाँ कम्तीमा पनि ८६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको बताइएको छ ।

यहाँ पछिल्ला केही दिनमा ठूलो संख्यामा संक्रमण देखिएकाले अबका केही दिनमा यहाँ संक्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढेको पाइएको छ । उता अमेरिकामा पनि पछिल्लो समयमा कोभिड–१९ को संक्रमण बढ्दै गएको देखिएकाले यहाँको सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गर्ने जनाएको छ ।

पछिल्ला केही समयमा यसको संक्रमण बढेपछि कतिपय राज्यमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ । त्यसैगरी, कतिपय अस्पतालमा कोभिडका संक्रमित बढेका समाचारहरु पनि आइरहेकाले सरकारले आवश्यक थप तयारी थालेको पनि बताइएको छ ।

अमेरिकी संस्था ‘सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका संक्रमितहरु बढ्न सक्ने बताएको छ । सो संस्थाले आगामी चार हप्तामा यहाँका अस्पतालमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्तिको मृत्युको दर पनि बढ्न सक्ने अनुमान गरेकाले सरकारले थप तयारी थालेको बताइएको हो ।

उक्त संस्थाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा कोभिडको संक्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकाले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरु अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय