बेइजिङ– कोभिड–१९ को संक्रमण भएका क्षेत्रबाट चीन आएका यात्रीमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपाय तय गरेको छ ।
ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दालाई हवाइ तथा रेल सेवाका लागि टिकट बिक्री तत्कालका लागि रोकिनेछ । बेइजिङका अधिकारीहरुले मध्यम र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका मानिसका लागि स्वास्थ्य कोडलाई अझै जोखिमको क्षेत्र संकेत गर्ने ‘पहेंलो रङ’ मा राखिनेछ ।
स्वास्थ्य संकेत हरियो भएका स्थानका मानिसले भने कुनै अवरोध बिना बेइजिङतर्फ जाने विमान वा रेलमा चढ्न दिइने छ । चीनका विभिन्न प्रान्त वा सहरबाट नै राजधानी बेइजिङ जान हरियो संकेत हुनुु जरुरी हुनेछ ।
चीनका थुप्रै सहरमा पुनः कोभिड–१९ संक्रमित भेटिन थालेपछि र उनीहरूमा समुदायबाटै संक्रमण पुष्टि भएपछि चीनको राजधानीमा उच्च सतर्कताका लागि यो कदम चालिएको हो । चीनका १५ प्रान्त तथा नगरपालिकामा ५०० भन्दा बढी व्यक्तिमा ‘डेल्टा भेरियन्ट’ को प्रभाव देखिएको छ ।
बेइजिङको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता संक्रमित भेटिएका र संक्रमित रहेको १५ सहरबाट उडान भर्न रोक लगाएको घोषणा गरेको छ ।
विमानस्थलका उप महाप्रबन्धक वेन वुले भने, ‘बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता १५ सहरबाट उडान मार्गलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको छ । वुले उडानमा लगाइएको प्रतिबन्ध संक्रमण बिस्तार नहोस भनेर गरिएको बताए ।
यसैबीच, नयाँ कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि बेइजिङ अन्तर्राष्ट्रिय फिल्म मेला स्थगित गरिएको स्पुतनिकले गत बिहीबारको घटनाको आधिकारिक बयान उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
‘देशका धेरै क्षेत्रमा हालै महामारीको प्रकोपका कारण, सुरुमा अगस्त १४–२१ का लागि तय गरिएको ११ औं बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभल सामान्य सुरक्षा र स्वास्थ्यका कारण स्थगित गरिनेछ,’ मेला आयोजक समितिले जानकारी गराएको छ । तथापि, आयोजकले यो मेला कहिले हुनेछ भन्नेबारे केही नबताएका स्पुतनिकले उल्लेख गरेको छ ।









