सिड्नी– अस्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटक नभित्र्याउने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार बताएअनुसार कुशल आप्रवासी र विद्यार्थीलाई अस्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अस्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ ।
गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दालाई पहिलोपटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए । गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महत्त्वपूर्ण निर्णय थियो । यसैबीच प्रधानमन्त्री मोरिसनले मंगलबार अस्ट्रेलियालीहरू पछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकभन्दा कुशल आप्रवासीहरू र अन्तरराष्ट्रिय विद्यार्थीहरू हुने बताएका छन् ।
अन्य देशहरूबाट अस्ट्रेलिया प्रवेश गर्नेको संख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सिर्जित प्रतिबन्धका कारण भएको हो । कोभिड महामारीले अस्ट्रेलियाली विश्वविद्यालयहरूमा अत्यन्तै नकारात्मक असर पारेको छ । किनकि यहाँका प्रायः विश्वविद्यालयहरू विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गर्दछन् । जारी सीमा प्रतिबन्ध निरन्तर रहँदा अन्तरराष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जान सक्ने डरले यहाँका विश्वविद्यालयहरू चिन्तित देखिन्छन् ।
प्रधानमन्त्री मोरिसनले सेभेन नेटवर्क टेलिभिजनलाई भने, ‘अर्को प्राथमिकता कुशल आप्रवासी हुन् जो देशका लागि धेरै महत्त्वपूर्ण छन् र जसले पूर्ण खोप पनि लगाएका छन् । साथै अस्ट्रेलियामा अध्ययन गर्न आउने र अध्ययनपछि फर्किने विद्यार्थी पनि त्यत्तिकै महत्त्वपूर्ण छन् ।’
अस्ट्रेलियन पर्यटन परिषद्ले महामारीभन्दा पहिले अन्तरराष्ट्रिय पर्यटकबाट मात्र एक वर्षमा ४५ अर्ब अस्ट्रेलियन डलर कमाएको थियो । यस परिषद्ले मार्चसम्ममा सीमा प्रतिबन्ध हट्ने र बाह्य पर्यटकको आवागमनमा सहजता आउने अपेक्षा गरेको छ । अस्ट्रेलियाले कोभिडविरुद्धको खोप अभियानलाई तीव्र बनाइरहेको छ तर पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन ।









