काठमाडौं– एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको ६ महिना १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा भन्सारले २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले लक्ष्यको तुलनामा पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम संकलन गरेको जनाएको छ । प्रतिशतमा ६ महिनाको राजस्व संकलन लक्ष्यको ७८.१७ प्रतिशत हो ।

गत वर्ष सो अवधिमा २६ अर्ब पाँच लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्यमा १५ अर्ब ८५ करोड ६१ लाख १५ संकलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यभन्दा नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार कम संकलन गरी ६१.७७ प्रतिशत प्रगति गरेको थियो ।

चालु आवमा गत वर्षको तुलनामा दुई अर्ब १७ करोड ६५ लाख ६ हजार रुपैयाँ बढी राजस्व संकलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए । उनले गएको वर्षभन्दा यस वर्ष सो अवधिमा विभागले विभिन्न शीर्षकमा कुल दुई अर्ब ६० करोड पाँच लाख ८५ हजार कम गरेर साउनदेखि पुससम्मको २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार लक्ष्य दिएको जानकारी दिए ।

कोरोना महामारीका कारण आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजश्व पनि प्रभावित भएकाले लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्सार प्रमुख शिवकुमार भण्डारीले जानकारी दिए । उनले विगतमा सो अवधिमा राजस्व संकलन गर्ने लक्ष्यको चालु आवमा लक्ष्य घटाए पनि प्रगति हासिल गर्न नसक्नुको प्रमुख कारण कोरोनाको महामारीले व्यापार व्यवसायमा आएको प्रभाव भएको बताए ।

कार्यालयले चालु आवको साउनमा दुई अर्ब २४ करोड ५६ लाख १४ हजार, भदौमा दुई अर्ब ५६ करोड ९६ लाख ९८ हजार, असोजमा तीन अर्ब ३४ करोड चार लाख ४१ हजार, कात्तिकमा तीन अर्ब चार करोड ४२ हजार, मंसिरमा तीन अर्ब १३ करोड ४० लाख ४२ हजार र पुसमा तीन अर्ब ७० करोड २७ लाख ४२ हजार राजस्व संकलन गरेको छ । कार्यालयले साउनमा १०२.७५ प्रतिशत प्रगति हासिल गरे पनि त्यसपछिका महिनामा क्रमशः ७९.५२, ७२.७०, ८३.९, ६५.८३ र पुसमा ७९.८६ प्रतिशत प्रगति गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय