काबुल– अफगानिस्तानको राजधानी काबुलमा साइकल प्रयोग गर्नेको संख्या बढेको पाइएको छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दै गएपछि साइकलको प्रयोग बढेको हो ।
यसअघि अफगानिस्तानी मुद्रा अनुसार ३५ पर्ने प्रतिलिटर पेट्रोलियम पदार्थको मूल्य अहिले ७६ पुगेको अधिकारीले जनाएका छन् ।
पछिल्लो दुईदेखि तीन महिनामा दोब्बरभन्दा बढी मूल्य वृद्धि भएकाले काबुलवासीले पेट्रोलियम पदार्थको प्रयोग घटाउन साइकलको प्रयोग बढाएका हुन् ।
‘पेट्रोलियम पदार्थको मूल्य बढेकाले बस तथा ट्याक्सीको भाडा पनि अत्यन्त धेरै बढेको छ, मैले त्यो मूल्य तीर्न सक्दीन,’ स्थानीय अब्दुल कादीरले भने ।
‘गाडी तथा ट्याक्सीको प्रयोग गर्नुको सट्टामा सम्भव भएसम्म साइकल नै प्रयोग गर्ने गरेका छौं, नजिकै जान त हिँडेर पनि जाने गरेका छौं,’ उनले भने ।
सरकारी अधिकारीले काबुलमा पछिल्लो समयमा पैदल यात्रीको संख्या धेरै देखिएको जानकारी दिएका छन् । ‘पैदल यात्रीको संख्या बढेकाले पैदल मार्गमा भीडभाड पनि धेरै हुने गरेको छ,’ एक सरकारी अधिकारीले भने ।
साइकलको प्रयोग सस्तो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा गर्ने र वातावरणलाई पनि फाइदा गर्ने भएकाले समेत साइकल प्रयोगकर्ता बढेको अनुमान गरिएको छ ।
विज्ञ तथा सरकारी अधिकारीले पनि साइकलको प्रयोगका लागि प्रोत्साहन गर्ने गरेको पाइएको छ । केही ढिला हुने बाहेक साइकलको कुनै बेफाइदा नभएको विज्ञको भनाइ छ ।
पेट्रोलियम पदार्थको मूल्यसँगै भाडासमेत बढेपछि ट्याक्सीका प्रयोगकर्ता कम भएको भन्दै ट्याक्सी व्यवसायी चिन्तित भएका छन् ।
उनीहरुले पहिला पहिलाको तुलनामा अहिले ट्याक्सीका ग्राहक निकै कम पाइने गरेकाले कमाइ निकै कम हुने गरेको बताएका छन् ।









