काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले नउल्टाए सडकबाटै उल्टाउने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले शुक्रबार राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले त्यस्तो चेतावनी दिएका हुन् ।

अदालतले सरकारको असंवैधानिक कदमलाई समर्थन गरे नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुने पनि उनले बताए । २०६२–६३ को जनआन्दोलन जसरी नै अहिले सिंगो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रेको भन्दै उनले अहिले जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएपछि राजनीतिक स्थायित्व, रोजगारी सिर्जना र आर्थिक समृद्धि चाहना राखिएकामा प्रधानमन्त्री केपी शर्मा ओली त्यसविरुद्ध उत्रेको दाहालले बताए । ‘नेकपाले दुई तिहाइ जनमत प्राप्त गरेपछि सबै क्षेत्रमा न्याय, सुशासन र समृद्धिको नयाँ युग सुरु हुनेछ, अप्ठेरोमा परेका जनतालाई कम्युनिस्ट नेतृत्वको सरकारले राहत दिन्छ भन्ने सोचिए पनि सरकारले त्यसो गर्न सकेन,’ उनले भने, ‘कम्युनिस्ट पार्टीले झण्डै दुई तिहाइ बहुमत ल्याएपछि घोषणापत्रमा भनेजस्तै गर्न नखोजेको भने होइन, पार्टी एकताका बेला भएका सहमति, समझदारी लागू गर्नबाट उहाँ (प्रधानमन्त्री) पछि हट्नुभयो ।’

सहमति गर्ने तर लागू नगर्ने, प्रधानमन्त्री हुन जे पनि सहमति गरिदिने तर सत्ता प्राप्त गरेपछि एउटा पनि कार्यान्वयन नगर्ने लक्षण ओलीमा सुरुदेखि नै देखिएको उनले बताए । ‘हामीले त्यसका विरुद्ध पनि बहस र संघर्ष गरेका थियौं । हामीले तीन वर्षमा प्रधानमन्त्रीलाई तह लगाउन सकेनौं, हाम्रा पनि केही कमीकमजोरी रहे,’ अध्यक्ष दाहालले भने ।

‘पार्टी विधान नमानेकाले’ प्रधानमन्त्रीका विरुद्ध आफूहरुले पार्टी कमिटीभित्र सङ्घर्ष गर्दै आएको उनले बताए । ‘यति गर्दा पनि प्रधानमन्त्रीलाई सच्याउन सकिएन, म आत्मआलोचना गर्न चाहन्छु,’ उनले भने, ‘आज आएर प्रधानमन्त्रीले पार्टी विधान, पार्टीभित्र भएका सहमति नमान्ने मात्र होइन, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नमानेर विध्वंसतर्फ जाने काम गर्नुभयो ।’

अध्यक्ष दाहालले अब पार्टीभित्र विधान र निर्णय नमान्ने प्रवृत्तिलाई उदार भएर अगाडि जान नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘हामीले उहाँलाई मात्र दोष दिएर चोखो हुन्छौं भन्ने लाग्दैन । त्यस्तो खालको भुल अब हामी गर्ने छैनौं,’ उनले भने । अध्यक्ष दाहालले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएकोसमेत बताए ।

आमसभालाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पनि सम्बोधन गरेका थिए । सभा अगाडि हजारौं नेता, कार्यकर्ताले राजधानीका विभिन्न नौ स्थानबाट जुलुस निकालेका थिए । नेकपाको प्रदर्शनका कारण शुक्रबार बिहानैदेखि राजधानीको सार्वजनिक यातायात अस्तव्यस्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय