काठमाडौं– नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई धितोपत्र व्यापारीको कार्य गर्ने अनुमति दिएको छ ।

बोर्डले नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी २०७६ फागुन १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो । साथै, नेपाल सरकारको बजेट वक्तव्यमा समेत पुँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो ।

यही पृष्ठभूमिमा नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपछि बोर्डले धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न अनुमतिपत्र प्रदान गरेको जनाएको छ ।

नेपालको पुँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनी लिमिटेडको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजी बजारमा गतिशीलता आई बजारको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बोर्डले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय