काठमाडौं– व्यापार सहजीकरणका लागि भन्सार र सीमा नाकाका पूर्वाधारमा ध्यान दिनुपर्ने सुझाव उद्यमी व्यवसायीले दिएका छन् ।

अहिले रेलमा आधारित सुक्खा बन्दरगाह वीरगन्जको मात्रै भएकाले विराटनगर, भैरहवा लगायतमा पनि रेलमा आधारित आइसिडी विस्तारमा ध्यान दिनुपर्ने सुझाव उनीहरुको छ ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उद्यमी, व्यवसायीले विराटनगर र भैरहवा निक्कै गतिशील नाका भएर आएकाले रेलमा आधारित आइसिडीको विस्तारमा ध्यान दिनु जरुरी भएको धारणा राखे ।

नेपाल–भारत सीमामा बन्दै गरेका आइसिपीहरू तत्काल पूरा गर्न जोड दिँदै कार्यक्रममा सहभागी उद्यमी, व्यवसायीले भने, ‘यसले पनि व्यापार सहजीकरणका साथै लागत घटाउँछ । भौतिक पूर्वाधारमात्र नभई अन्य सुविधा र प्रविधिको प्रयोग बढाउनु आवश्यक छ ।’

अर्थ मन्त्रालयका सचिव (राजस्व), भन्सार विभागका महानिर्देशक र अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न निकायका पदाधिकारी सहभागी कार्यक्रममा उद्यमी, व्यवसायीले नेपाल भारत सीमामा बन्दै गरेका आइसिपीहरुको निर्माण तत्काल सक्नुपर्ने र नेपाल–भारतबीचको खुला सीमाका कारण हुने अनधिकृत व्यापार रोक्नेतर्फ ध्यान जानुपर्नेमा जोड दिँदै भन्सार प्रशासनले यसको नेतृत्व लिनुपर्ने सुझाए । भन्सारमा हुने सम्पूर्ण भुक्तानी विद्युतीय माध्यमबाट हुनुपर्नेमा पनि उनीहरुको जोड थियो ।

महासंघ अध्यक्ष शेखर गोल्छाले भन्सारका मुख्य विषय भन्सार मूल्यांकन र वर्गीकरणको भएको बताउँदै दुर्व यथार्थपरक हुनुपर्नेमा जोड दिए । ‘यसमा सरकारको राजस्व पनि नगुमोस् र पैठारीकर्तालाई पनि भन्सार मूल्यांकन बढी भयो र वर्गीकरण फरक भयो भन्ने गुनासो आउने ठाउँ राख्नु भएन,’ गोल्छाले भने ।

अहिले भन्सारबाट छुटेको सामान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेका घटना छन् भन्दै अध्यक्ष गोल्छाले एउटा विभागले अर्कोलाई विश्वास नगर्ने वातावरण नहोस् भन्ने निजी क्षेत्रको चाहना रहेको स्पष्ट पारे । यसले व्यवसायीलाई त्रसित बनाउनुका साथै समस्या पनि सिर्जना गरेको उनको भनाइ छ ।

भन्सारसम्बन्धी विवाद शीघ्र समाधान गर्न एक विवाद समाधान संयन्त्र बनाउनुपर्ने सुझाव उनले दिए । भन्सार लगायत राजस्व नीति निर्माणमा समेत सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनले बताए ।

भन्सार विभागको अथक प्रयासले लकडाउन र निषेधाज्ञाका बेला पनि सामानको अभाव मात्र होइन भाउ पनि बढन पाएन भन्दै अध्यक्ष गोल्छाले भने, ‘योसँगै यस महामारीका बेला निजी क्षेत्र र सरकारबीच राम्रो समन्वय भयो । गत वर्ष पनि सरकार आफ्नो राजस्वको संशोधित लक्ष्य अनुसार संकलन गर्न सफल भयो ।’

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनको नियमित सुधारका लागि विभाग क्रियाशील रहेको र फिल्डमा देखिएका समस्या समाधानमा सदैव तयार रहेको बताए । उनले भन्सार विभागमा निकै धेरै सुधार भएको र यो नियमित रहेको पनि स्पष्ट पारे ।

राजस्व सचिव रामशरण पुडासैनीले हरेक सुधारका अभियानमा सरकारलाई निजी क्षेत्रबाट बलियो सहयोग प्राप्त भएको भन्दै कर राजस्व सुधारमा पनि निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए । निजी क्षेत्रलाई उद्योग व्यवसाय गर्दा कहाँ समस्या छन् तपाईंहरु स्पष्ट रुपमा भन्नुहोस् सरकार सहयोग गर्न तयार छ,’ सचिव पुडासैनीले भने ।

कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सभापति संदीप अग्रवालले कार्यपत्र प्रस्तुत गरेका थिए । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले धन्यवाद मन्तव्य दिएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय