दुबई– कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई दुबईका रेस्टुरेन्टहरुमा विषेश छुटको व्यवस्था गरिएको छ ।  रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई)का एक करोड बासिन्दामध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् ।

धेरैलाई खोप लगाउने मुलुकमध्ये इजरायलपछि युएई दोस्रो नम्बरमा छ । रेस्टुरेन्ट व्यवसायीहरुले पहिलो खोप लगाएकालाई १० प्रतिशत र दोस्रो खोप लगाएकालाई २० प्रतिशत छुटको व्यवस्था गरेका छन् । छुट सुविधा उपभोग गर्न खोप लगाएको आधिकारिक प्रमाणपत्र पेस गर्नु पर्ने सर्त राखिएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरूको यस अभियानलाई धेरैले सकारात्मक रुपमा लिएका छन् भने सामाजिक सञ्जालमा पनि प्रशंसा भइरहेको छ ।

‘यसलाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । यो अभियानले कतिपयले हल्का रुपमा लिने र ठट्टाको विषय बनाउने छन् वा खोप लगाउनका लागि प्रेरित हुनेछन्,’ एकजनाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

युएईको दुबईसहित सात क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने अभियान गत डिसेम्बरदेखि नै चलिरहेको अधिकारीहरुले जनाएका छन् ।

युएईमा चीनमा विकास गरिएको सिनोफार्म र अमेरिकी र जर्मनी साझेदारले विकास गरेको फाइजर खोप लगाइएको छ । सिनोफार्म खोप अहिले पनि निःशुल्क उपलब्ध गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

युएईमा आइतबार थप तीन हजार ५७९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । योसँगै युएईमा संक्रमित संख्या दुई लाख ७७ हजार नाघेको छ । अहिलेसम्म ७९२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय