काठमाडौं– दक्षिण अफ्रिकाबाट नेदरल्यान्डका लागि उडेको एउटा मालवाहक विमानको पांग्रामा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेका छन् ।

सामान्यतया जोह्यानिस्बर्गबाट एम्सटर्डमको उडानका लागि ११ घन्टा लाग्छ । दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको ठानिएको छ ।

लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ ।

आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र चिसोले मानिसको मृत्यु हुन्छ ।

प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागिनसकेको बताएको छ ।

‘ती व्यक्ति उक्त विमानको नोज ह्वील भएको भागमा जीवित फेला परे र उनलाई स्थिर अवस्थामै अस्पताल लगियो,’ प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचारसंस्था एएफपीलाई बताइन्।

‘ती व्यक्ति अझै जीवित हुनु अद्भुत कुरा हो,’ उनले भनिन् ।

विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पंग्रालाई नोज ह्वील भनिन्छ ।

डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो । एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए ।

कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचार संस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन् ।

आइतवार जोह्यानिस्वर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटामा देखिन्छ ।

तर ती व्यक्ति दक्षिण अफ्रिकाबाटै कि केन्याबाट उक्त विमानमा त्यसरी लुकेका हुन् भन्ने थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय