नयाँदिल्ली– भारतमा कोरोनाको तेस्रो लहरका कारण बन्द भएका भारतको पश्चिम बंगालका विद्यालयहरू धमाधम खुल्न थालेका छन् । कक्षा ८ देखि १२ सम्मको पढाइ बिहीबारदेखि सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
मुख्यमन्त्री ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गरिने घोषणा गत सोमबार गरेकी थिइन् ।उनका अनुसार विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन् ।
कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएपछि प्रान्त सरकारले गत जनवरी ३ देखि विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन कार्य बन्द गरेको थियो । सरकारले त्यति बेलादेखि नै स्पा, सैलुन, ब्युटी पार्लर, चिडियाखाना, मनोरञ्जनस्थल लगायत बन्द गर्ने निर्णय गरेको थियो ।
दुई वर्षअघि सुरु भएको महामारीका कारण विद्यालयमा पठनपाठनको वातावरण बन्न नसकेको शिक्षक तथा विद्यार्थीहरूले बताएका छन् ।
एक विद्यार्थीले भने, ‘महामारी आउनुपूर्व म कक्षा ८ मा पढ्दै गरेको थिएँ । अहिले कक्षा १० मा पढ्न थालेको छु । यो बीचमा पटकपटक लकडाउन भयो । त्यस बेला मेरो राम्रा नराम्रा सबैको मिश्रित अनुभव भयो । मैले पढ्ने महत्त्वपूर्ण वातावरण लामो समय गुमाएको छु ।’









