महोत्तरी– माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम) ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव) ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो ।

चिनी उद्योगमा चाहिँदो मात्राको उखु नपुग्नुलाई ‘नो केन’ भन्ने गरिन्छ । गौशाला नगरपालिका–१ स्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज अहिले यही अवस्थाबाट गुज्रिरहेको छ । केही वर्ष पहिले मौसम (उखु पेलेर चिनी बनाउने बेला) मा ५८ लाख क्विन्टलसम्म उखु पेलेर कीर्तिमान बनाएको उद्योग अहिले उखुकै अभावमा एक–दुई दिन बिराएर बन्द गर्नुपर्ने बनेको छ । क्रसिङ मौसममा विगतमा दैनिक २० घन्टासम्म चल्ने गरेको यो उद्योग अहिले ‘नो केन’ कै मारले मुस्किलले १०–११ घन्टामात्र चल्ने गरेको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगले यसपालि पुस पहिलो साता क्रसिङ सुरु गरेको हो । यसअघि कटान चलान नपाएको भन्दै गुनासो गर्ने किसान, उखु तौलमा हुने भिडभाड र उद्योग परिसरमा सयौंको संख्यामा तौलको पालो पर्खेर रहेका उखु गाडी स्वात्तै घटेपछि उद्योग परिसर सुनसान बनेको उद्योग नजिकका बासिन्दा बताउँछन् ।

तराईमा नगदेबाली भनिने उखुको पैसा कहिल्यै समयमा नपाएपछि किसानले चार–पाँच वर्षयता खेती घटाउँदै लगेका छन् । उखुको मूल्य निर्धारणमा बर्सेनि लामो समयसम्म किचलो हुनु, खेती गर्न सुलभ ऋण र प्राविधिक सहयोग नपाउनु र उखुको भुक्तानीका लागि बर्सेनि आन्दोलन नै गर्नुपर्ने अवस्था बन्नुले किसान उखु खेतीको विकल्पमा लागेको गौशाला–१ का किसान धनलाल साशंकर बताउँछन् ।

‘मरीमरी खेती गरेर उब्जाएको फसलको न आफूले मूल्य भन्न पाइन्छ, न चाहेका बेला पैसा नै,’ उनले भने, ‘उल्टै प्रत्येक सालजस्तो आन्दोलनमा पो उत्रनुपर्छ, अनि उखु गर्न कसरी जाँगर चलोस् ?’ पाँच वर्षअघिसम्म आफ्नो सगोल परिवार हुँदा ५–६ बिघासम्म गरिएको उखुखेती अब गर्न छाडिएको साशंकरको भनाइ छ ।

यसपालि त उखु भएका किसानले आफैं पेलेर मिठा (सक्खर) बनाउने र कतिपयले सक्खर बनाउने क्रसर उद्योगलाई उखु दिएपछि चिनी उद्योग परिसर सुनसान बनेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउँछन् ।

उखुको पैसा लिन लामो समय कुर्नुपर्ने, सरकारले दिने प्रक्रिया झन्झटिलो हुनु, उखुखेतीमा बर्सेनि लागत बढ्दै जानु, सिँचाइको व्यवस्था नहुनु, समयमा मलखाद तथा बीउ नपाउनु र लागत अनुपातमा मूल्य नबढेपछि उखुखेती जिल्लामा झण्डै ५० प्रतिशत घटेको उनको भनाइ छ । विगतमा एक समय १८ हजार बिघासम्म पुगेको उखुखेती यसपालि घटेर ६ हजार ५०० बिघामा झरेको उनले बताए ।

खासमा उखु किसानका मर्काबारे राज्य पक्ष उदासिन भएपछि वैकल्पिक खेतीमा लाग्नैपर्ने बाध्यताले यो खेती स्वात्तै घटेको उनले जानकारी दिए ।

उद्योगमा उखुको अभाव भएपछि भने उद्योगले अहिले नगदै उखु किन्ने नीति बढाएको छ । उद्योग सञ्चालन गर्न उखु लगातार अपुग भएपछि उद्योगका कर्मचारी झोलामै रकम बोकेर खेत–खेत चाहार्न लागेका छन् । किसानलाई उखुको भुक्तानी प्रक्रिया अत्यन्त सरल बनाएर तौल भएको १० दिनभित्रै किसानको खातामा रकम जम्मा गर्ने व्यवस्था भएको उद्योग प्रशासनले जनाएको छ ।

तराईमा नगदेबाली भनिने उखुको पैसा कहिल्यै समयमा नपाएपछि किसानले चार–पाँच वर्षयता खेती घटाउँदै लगेका छन् । उखुको मूल्य निर्धारणमा बर्सेनि लामो समयसम्म किचलो हुनु, खेती गर्न सुलभ ऋण र प्राविधिक सहयोग नपाउनु र उखुको भुक्तानीका लागि बर्सेनि आन्दोलन नै गर्नुपर्ने अवस्था बन्नुले किसान उखु खेतीको विकल्पमा लागेको गौशाला–१ का किसान धनलाल साशंकर बताउँछन् ।

यस क्रममा जारी मौसममा अहिलेसम्म ३० करोड रुपैयाँ किसानको खातामा पठाइएको उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासको भनाइ छ । यसपालि गत पुस पहिलो साता सञ्चालन भएको उद्योगले अहिलेसम्म (१५ माघसम्म) १० लाख १० हजार क्विन्टल उखु क्रसिङ गरेको महाप्रबन्धक दासले जानकारी दिए ।

उद्योगले यसपालि उखु खरिद र भुक्तानी केही सहज बनाएको किसानले पनि स्वीकार गरेका छन् । तर उद्योगले यो नीति बनाउन ढिलाइ गरेको र अब सधैं यसैअनुसार हुने विश्वास आपूmहरुलाई दिन नसकेपछि किसान उखुखेतीबाट हच्कनु परेको बताउँछन् ।

किसानमा उखुखेतीको आकर्षण घट्दै गएपछि ‘नो केन’कै कारणले विगत चार–पाँच वर्षयता क्रमशः बन्द हुँदै गएका छन् । खासमा किसानको रकम भुक्तानी नगर्दा उखु पाउन छाडेपछि मुलुकका चारवटा चिनी उद्योग बन्द भएको नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष सर्लाहीका किसान कपिलमुलि मैनाली बताउँछन् । ‘मुलुकका १४ चिनी उद्योगमध्ये चारवटा त गत वर्षदेखि नै बन्द छन,’ उनी भन्छन्, ‘अहिले सञ्चालनमा रहेका १० उद्योगलाई पनि उखु अभाव भएको छ ।’

उखुको अभाव भएपछि सञ्चालनमा रहेका सबैजसो उद्योगले अहिले खेतखेतमै पुगेर उखु लिने गरेका छन् । उखु अभावले दैनिक रूपमा एक लाख क्विन्टल उखु क्रसिङ क्षमताका उद्योगले अहिले मुस्किलले १० हजार क्विन्टल उखु क्रसिङ गर्ने गरेका पाइएको उनको भनाइ छ ।

अहिले ‘नो केन’ले धराशयी बन्दै गएका उद्योग फस्टाउन र उपयुक्त सुविधा नपाएर निराश किसानलाई उखुखेतीमा उत्साहित गर्न सकिने नेपाल उखु उत्पादक संघको ठहर छ । किसानलाई खेतीदेखि मूल्य निर्धारण र भुक्तानीसम्मका प्रक्रियामा सुविधा बढाएर आश्वस्त बनाउन सके अझै उखुखेती फस्टाउन सक्ने उनी बताउँछन् । किसान उत्साहित भएर उत्पादन बढाएसँगै उद्योगको प्रगति अघि बढ्ने उनको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय