काठमाडौं– धितोपत्र दलाल व्यवसायीले खरिद आदेश दिने लगानीकर्ताबाट अग्रिम लिनुपर्ने रकमका सम्बन्धमा साबिककै व्यवस्था कायम रहेको नेपाल धितोपत्र बोर्डले प्रस्ट पारेको छ । बोर्डका प्रवक्ता निरज गिरीले आइतबार एक विज्ञप्ति जारी गर्दै धितोपत्र दलाल व्यवसायीले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट नगदै अग्रीम रुपमा लिनुपर्ने व्यवस्था गरिएको भनी सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएको समाचारले लगानीकर्तामा द्विविधा सिर्जना गरेको विषयमा बोर्डको ध्यानाकर्षण भएको जनाएका छन्।
धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट चक्र टी प्लस २ मा गर्नुपर्ने व्यवस्था लागू भइसके पनि कतिपय दलाल व्यवसायीले सोको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो आएपछि धितोपत्र कारोबारको साफसाफ तथा फर्छ्योट टी प्लस २ मा गर्न र सोही अनुसार समयमै धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाइका साथ पालना गर्न बोर्डले माघ १४ मा परिपत्र जारी गरेको तर त्यसलाई केही सञ्चार माध्यमले अर्कै अर्थ आउने गरी सम्प्रेषण गरेको बोर्डले जनाएको छ ।
त्यसैगरी, धितोपत्र दलाल व्यवसायीले समयमै लगानीकर्तालाई रकम भुक्तानी गर्न सकून् भन्ने उद्देश्यले यसअघि नै व्यवस्था गरिएको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम धितोपत्र बिक्री गर्ने लगानीकर्तासँग मार्जिन रकम वा चेक लिन सक्ने जानकारी गराइएको पनि बोर्डले जनाएको छ ।
बोर्डले खरिद गरेको धितोपत्र र बिक्री बापतको रकम समयमै लगानीकर्तालाई प्राप्त होस् भन्ने उद्देश्यले उक्त परिपत्र जारी गरेको र यस कार्यलाई थप प्रभावकारी बनाउन बोर्ड अध्यक्ष सहितका उच्च तहका कर्मचारी, नेप्सेको प्रतिनिधि तथा ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीबीच आइतबार बोर्डमा छलफल भई धितोपत्र कारोबारलाई बैंक तथा निक्षेप सदस्यसँग इन्टिग्रेसन गर्ने गरी लगानीकर्ताको धितोपत्र कारोबार खाता, मार्जिन खाता तथा क्लियरिङ खाताका सम्बन्धमा उचित व्यवस्थापन निकट भविष्यमा नै गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ । बोर्डले विभिन्न समाजिक सञ्जाल तथा भ्रामक र अपूर्ण सूचना र हल्लाको पछि नलागी सूचीकृत संगठित संस्थाको आधारभूत तथा प्राविधिक पक्षको अध्ययन गरी विद्यमान व्यवस्था अनुरुप नै लगानी गर्न अनुरोध गरेको छ ।
बैंक खाता र सेयर खाता इन्टिग्रेसनको कार्य अगाडि बढाउने प्रक्रियाको लागि बोर्डबाट निर्देशन भइसकेको परिप्रेक्षमा सो व्यवस्था कार्यान्वयनमा आएपछि धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट थप प्रभावकारी भई धितोपत्र कारोबार अझै लगानीकर्तामैत्री हुने बोर्डका प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।