मस्को– रुस र युक्रेनबीचको अर्काे चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।
यसपटकको वार्ता हुने ठाउँबारे केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् ।
तेस्रो चरणको वार्ता सोमबार हुने युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले जानकारी दिएका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसबीच अर्काे अर्थात तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
युक्रेनका अधिकारीहरुले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन् । दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका छन् ।
रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने शुक्रबार बताइएको थियो ।
उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ ।
युक्रेनी राजधानी किभमा भने खतराको जनाउ दिने साइरनहरु अहिले पनि बजेका बताइएको छ । त्यस्तै युक्रेनको उत्तरी सहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ । रुसले एक हप्ताभन्दा बढी समयदेखि युक्रेनमाथि सैन्य हमला गरिरहेको छ । ती युक्रेनी फौजले प्रतिवाद गरिरहेको छ ।









