सोल– दक्षिण कोरिया सरकारले विदेशबाट आउनेलाई क्वारेन्टिन बस्नुपर्ने नियम हटाएको छ । उक्त व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्य रुपमा ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो ।
यो व्यवस्था आएसँगै वर्षौंदेखि कोरिया प्रवेशको पर्खाइमा रहेका विदेशी मजदुरलाई आकर्षक रोजगारीको गन्तव्य भनिएको मुलुक दक्षिण कोरिया जानलाई थप सहज हुने भएको छ । दक्षिण कोरियाले नेपाल, पाकिस्तान, थाइल्यान्ड, भियतनाम, बंगलादेश, श्रीलंका, म्यानमार लगायत १६ देशबाट रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजाने गरेको छ ।
क्वारेन्टिनका लागि बस्ने ठाउँकै अभावका कारण लामो समयदेखि नेपाल लगायत अन्य देशबाट विदेशी नागरिक सहज रुपमा कोरिया उड्न पाइरहेका थिएनन् । यसका साथै कोरिया छिरे पनि क्वारेन्टिनको शुल्क महँगो हुने कारणले थप समस्यामा परेको गुनासो पनि उत्तिकै आइरहेको थियो । यो व्यवस्थाले सबै समस्या हल हुने अनुमान गरिएको छ ।
कोरोना भाइरसविरुद्ध पूर्ण मात्रा खोप लगाएकाले मात्रै यो सुविधा पाउने जनाइएको छ । दक्षिण कोरियाको यो निर्णयले अब कोरिया बिस्तारै विदेशी आगमनलाई खुकुलो पार्दै जाने सोचमा रहेको बुझ्न सकिन्छ । कोरोना भाइरस संक्रमणका कारण सहजरुपमा कोरिया प्रवेश गर्न नपाउँदा नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा पास गरेर उडानको प्रतीक्षामा रहेका हजारौं श्रमिक प्रभावित भएका छन् । कोरियाले केही समयअघिबाट बिस्तारै कामदार प्रवेश गराउन थाले पनि प्रतीक्षामा रहेका कामदार धेरै भएका कारण कोरिया प्रवेश सहज भइसकेको छैन । तर यो निर्णयले कोरिया प्रवेश छिटो हुने बुझाइ यहाँका विभिन्न संघ–संस्थाको प्रतिनिधिमा छ ।









