बेइजिङ– एक सय ३२ यात्रु बोकेको चाइना इस्टर्न वायुसेवाको एउटा बोइङ ७३७ सोमबार दक्षिणी चीनको गुआङ्सी झुआङ अटोनोमस रिजनको हिमाली भेगमा दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनामा भएको मानवीय क्षतिको विवरण आउन बाँकी रहेको चीनको सरकारी समाचार संस्था ग्लोबल टाइम्सको अनलाइन संस्करणले चिनियाँ नागरिक उड्डयन प्रशासनलाई उद्धृत गर्दै जनाएको छ ।
सन् २०१० यताकै पहिलो विमान दुर्घटना हो । यसअघि सन् २०१० मा उत्तरपूर्वी चीनको हेइलोङजिङ प्रान्तमा यात्रुबाहक विमान दुर्घटनामा परेको थियो ।
सोमबार दुर्घटनामा परेको एमयू ५७३५ कलसाइनको विमान दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा पर्ने कुनमिङ चाङ्सुई विमानस्थलबाट दिउँसो सवा १ बजे दक्षिणी चीनको गुआन्झाउका लागि उडेको थियो ।
विमानमा १२३ यात्रु र ९ जना चालक दलका सदस्यसहित १३२ जना चढेका थिए । यो समाचार तयार गर्दासम्म घटनास्थलमा उद्धारकर्मी परिचालित भइसकेको बताइएको छ । उक्त विमान साढे ६ वर्षदेखि सञ्चालनमा रहेको बताइएको छ । १२ बिजनेस क्लास र १५० इकोनोमी सिटको विमानमा १३२ जनामात्र थिए ।
दुर्घटनाको कारण थाहा हुन बाँकी रहेको र ब्ल्याक बक्स भेटिएपछि मात्र पत्ता लाग्ने अधिकारीहरुले बताएका छन् ।









