काठमाडौं– सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ । महासंघको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौं पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकार, प्रदेश अन्तर्गतका सामुदायिक वन समूह तथा निजी क्षेत्रको लगानीमा वन क्षेत्रमा खेर गइरहेका वन पैदावारको उपयोग गरी आयआर्जनसहित रोजगारी सिर्जना गर्ने खालका उद्योग सञ्चालन गर्ने भएको हो । सामुदायिक वन क्षेत्रमा रहेको काठ र गैरकाष्टलाई आधुनिक प्रविधिको माध्यमबाट बजारको आवश्यकता अनुसारका विभिन्न कच्चा पदार्थ लगायत तयारी फर्निचर उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य रहेको महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले जानकारी दिए ।

गण्डकी प्रदेशको गौरवको योजनाका रुपमा सञ्चालन गरिने सो उद्योग स्थापना र सञ्चालनका लागि प्रदेश महासंघमा आवद्ध तीन हजार ९०० सामुदायिक वन उपभोक्ता समूहलाई लगानी गर्न आह्वान गरिने बैठकले निर्णय गरेको छ । उनले भने, ‘२० करोडभन्दा बढी लगानी हुने सो उद्योगबाट पहाडी वन क्षेत्रमा रहेका चिलाउने, कटुस, उत्तीस, सल्ला आदि वन पैदावारको प्रशोधन गरी कम्पोजिट उड, फिंगरजोन्ट, काठको सिजिनिङ र उपचारसमेत गरिने छ ।’

वनबाट रोजगारीका अवसर सिर्जना गर्दै सामुदायिक वनलाई आत्मनिर्भर हुनेतर्पm उन्मुख हुने आधार बन्ने बताउँदै उनले यस अभियानले ‘एक वन एक उद्यम’ अभियानलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकीका सचिव किशोर सापकोटाका अनुसार महासंघको लामो संघर्षको कारण वैज्ञानिक वन पद्दति खारेज गरेकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्न बैठकले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय