कोलोम्बो– श्रीलंकामा उत्पन्न गम्भीर आर्थिक संकटबाट रुष्ट सर्वसाधारणले नेताहरुलाई नै निशाना बनाउन थालेका छन् । आक्रोशित प्रदर्शनकारीले राजीनामा दिएर बसेका प्रधानमन्त्री महिन्दा राजापाक्षसहित ५० भन्दा बढी नेताका घर र विलासी गाडीमा आगो लगाइदिएको खबर छ ।

आक्रोशित भीडले कोलोम्बोस्थित सरकारी निवास घेरेर आगो लगाउन थाल्दा प्रधानमन्त्री राजापाक्ष र उनको परिवारका सदस्य त्यहीँ रहेको बताइएको छ । राजापाक्ष परिवारलाई त्यहाँबाट सेनाले उद्धार गरेको जोगाएको थियो ।

सोमबारदेखि भड्केको हिंसामा प्रदर्शनकारीले प्रधानमन्त्री राजापक्षका अतिरिक्त क्याबिनेट मन्त्री सनथ निशान्त, सांसद, मेयर लगायत ५० भन्दा बढी नेताहरुको घरमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले कुरुनेगालाका मेयर थुसारा संजीवाको घर जलाइदिएका छन् । त्यसैगरी मोरातुवाका मेयर समनलाल फर्नान्डोकोको विल्लोरावात्तेस्थित घरमा पनि आगजनी भएको छ । कुरानेगालास्थित पूर्वमन्त्री जोनस्टोन फर्नान्डोको पार्टी कार्यालय पनि जलाइएको छ ।

पूर्वमन्त्री निमाल जान्जा र उनका बाबुको घर पनि भीडले जलाइदिएको छ । प्रहरीका अनुसार पूर्वमन्त्री डा रमेश पाथिरानाको घर पनि अज्ञात प्रदर्शनकारीले जलाइदिएका छन् ।

श्रीलंकाली सर्वसाधारण भ्रष्ट, अदूरदर्शी र नातावादी नेताहरुका कारण देश यो अवस्थामा पुगेको ठान्छन् । त्यसैले नेताहरुप्रति उनीहरुको आक्रोशको पारो चढेको हो ।

कोलोम्बोस्थित घरमा आगजनी भएपछि राजापाक्ष परिवारसहित मुलुकको पूर्वोत्तर भागमा अवस्थित त्रिनकोमलाई नौसैनिक अड्डामा शरण लिन पुगेको अपुष्ट खबर बाहिरिएको छ ।

सोमबार सुरु भएको हिंसात्मक प्रदर्शनमा ८ जनाको ज्यान गइसकेको र दुई सयभन्दा बढी घाइते भएको प्राप्त समाचारमा उल्लेख छ । हिंसाले उग्र रुप लिएपछि रक्षा मन्त्रालयले कर्फ्यु र प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली हान्ने आदेश दिएको छ ।

यसैबीच, सरकारपक्षीय समूहले प्रदर्शनकारीमाथि आक्रमण थालेको र प्रहरी उनीहरुको अराजतकतामा मूकदर्शक बनेको श्रीलंकाली अखबार द आइल्यान्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय