काठमाडौं– कोभिड–१९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द, हडताल जस्ता गतिविधिले थप जोखिममा पार्ने भन्दै निजी क्षेत्रका प्रमुख संस्थाहरुले आपत्ति जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार एक विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने निश्चित रहेको जनाएका छन् ।

नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल खेमाले बिहीबारका लागि आम हडताल घोषणा गरेपछि निजी क्षेत्रका तीन संस्थाले विज्ञप्ति जारी गरेर बन्द हडतालप्रति असहमति जनाएका हुन् ।

‘विश्वव्यापी महाव्याधीले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई बन्द हडताल, चक्काजाम एवं आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलन लगायत गतिविधिले पेसा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिनेछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो बिषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजी क्षेत्रको काम गर्न पाउने लगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर छ ।’

उनीहरुले बन्द, हडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्नेतर्पm राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् । साथै नया“ संविधान निर्माणपश्चात आर्थिक विकासलाई प्राथमिकतामा राखी बन्द, हडताल, चक्काजाम लगायत गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले गरेको प्रतिबद्धतालाई उनीहरुले स्मरण गराएका छन् ।

‘अहिलेको कठिन परिस्थिति, विगतका हाम्रा तीता अनुभव समेतलाई गम्भीर रूपमा मनन गरी बन्द, हडताल लगायतका कार्यक्रमको घोषणा गरिएको हो भने तत्काल फिर्ता लिई मुलुकलाई थप संकटमा नधकेल्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स समस्त राजनीतिक दलहरूमा हार्दिक अपिल गर्दछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय