काठमाडौं– घरेलु तथा साना उद्योगलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसिएसनबीच सहमति भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालबीच महासंघको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमति भएको हो । महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतले विषय प्रवेश गराएको सो भेटवार्तामा महासंघ र बैंकर्स एसोसिएसनबीच घरेलु तथा साना उद्योग (एसएमई) क्षेत्रमा हुन सक्ने सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटवार्तामा एसएमईहरूलाई ऋण सहजीकरणदेखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको सहभागितामा एउटा सानो कार्यदल गठन गर्ने र विस्तारै प्रदेश तथा जिल्लास्तरमा पनि कार्यदल विस्तार गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको छ । यसका लागि दुवै संस्थाबीच छिट्टै एक सहमतिपत्रमा हस्ताक्षर गरी अघि बढ्ने सहमति समेत भएको छ ।

महासंघको घरेलु तथा साना उद्योग समितिको माघ २० गते बसेको पहिलो बैठकले एसएमईहरुलाई लगानी सहजीकरणका लागि बैंकर्स संघ र नेपाल राष्ट्र बैंकसँग सहजीकरण गर्ने सम्बन्धमा गरेको निर्णय अनुसार उक्त भेटवार्ता भएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेजहरू कतिपय जिल्लामा लागू गर्न बैंकहरू अनिच्छुक देखिएका गुनासाहरू विभिन्न जिल्लाबाट महासंघमा आएको सन्दर्भमा दुवै संस्थाबाट भएको यो प्रतिबद्धताबाट कार्यान्वयन तहमा आउने समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

नेपाल राष्ट्र बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन २०७७ अनुसार कोभिडको समय असारसम्म ६३.६ प्रतिशत सञ्चालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगमा १३.०१ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेको छैनन् । नेपाल राष्ट्र बैंकद्वारा गरिएको एक अर्को अध्ययनका अनुसार नयाँ व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाहरुमा १६ प्रतिशतको मात्रै पहुँच रहने गरेको छ ।

निर्यात प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट निकासी हुने सामग्रीको ४२ प्रतिशत अंश घरेलु, मझौला र साना उद्योगको छ । उक्त भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थी, एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय