काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । टेलिकमको १७औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले टेलिकमलाई विश्वमै नेतृत्वदायी कम्पनीका रूपमा विकास गर्न हिजोको प्रतिबद्धता पूरा भयो कि भएन, सबै हिसाबले समीक्षासहित दिगो र स्थायी कम्पनीका रूपमा अगाडि बनाउन रणनीति बनाएर जानुपर्ने बताए । मन्त्री गुरुङले जतिसक्दो चाँडो ग्रामीण क्षेत्रमा पूर्वाधार विकास गरी गुनासो नआउने गरी सेवा दिन कर्मचारीलाई निर्देशन दिए ।

टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले टेलिकमबारे गुनासो नआउने गरी समस्या भएका स्थानमा जतिसक्दो चाँडो टावर निर्माण गरिने जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जनतालाई प्रत्यक्ष लाभ हुने गरी गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई आग्रह गरे ।

मुलुकमा दूरसञ्चार सेवाको सुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो इतिहास बोकेको तत्कालीन नेपाल दूरसञ्चार संस्थान २०६० माघ २२ गते कम्पनीमा रुपान्तरण भएको थियो । १७ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार चार लाख २२ हजार रहेकामा अहिले दुई करोड नौ लाख पुगेको छ ।

करिब ७० प्रतिशत जनसंख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा टेलिकमको आय ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा नौ अर्ब ७४ करोड पुगेको छ । कम्पनीले मुलुकका ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधार निरन्तर वृद्धि भइरहेको छ ।

वार्षिकोत्सवका अवसरमा २० वर्ष काम गरेका ५० कर्मचारीलाई पदक प्रदान गरिनुका साथै व्यावसायिक साझेदार संघ–संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय