म्याग्दी– म्याग्दी उद्योग वाणिज्य संघको २७औं साधारणसभा तथा ११औं अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको हो ।

कटुवाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्वितीय उपाध्यक्षमा लीलाराम गौतम, महासचिवमा अमित बानियाँ, कोषाध्यक्षमा सुवर्ण रिजाल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा बाबुराम आचार्य र सहकोषाध्यक्षमा नारायण जिसी निर्वाचित भ्एका छन् ।

सहसचिव पदमा दाबी गरेका छ जनाबीच सहमतिमा गोला प्रथाबाट आचार्य छनोट भएका थिए । संघको सदस्यमा टेकप्रसाद सापकोटा, अञ्जित खान, गोपाल पौडेल, खेम केसी, मोतिलाल पौडेल, सरोज बानियाँ, राजकुमार श्रेष्ठ, तारानाथ रेग्मी, नवराज पौडेल, यज्ञराज थापा, हरिप्रसाद पौडेल, हिमाल श्रेष्ठ, चन्द्रप्रकाश बराइली, हरि भण्डारी, प्रवीण श्रेष्ठलगायत चयन भएका छन् ।

महिला उद्यम विकास समितिका अध्यक्ष लक्ष्मी भण्डारी कार्कीलगायत पाँचवटा गाउँपालिका एकाइ समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । २०२७ सालमा स्थापना भएको म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका उद्योगी व्यवसायीको छाता संगठन मानिन्छ ।

स्थापनाको ५०औं वर्षगाठ मनाइरहेको उद्योग वाणिज्य संघको अधिवेशन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटनका क्रममा संघले म्याग्दीको प्रवेशद्वार कालीपुल बसपार्कमा स्थापना गरेको शिव महादेवको मूर्ति अनावरण गरेका थिए ।

अधिवेशनको बन्दसत्रले अध्यक्ष उत्तम कर्माचार्यको संस्थागत, महासचिव लीलाराम गौतमको प्रगति र कोषाध्यक्ष अमित बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । प्राकृतिक विपत्तिमा परेका सदस्यका लागि व्यापारिक हितकोष स्थापना, दिवंगत सदस्य र परिवारका सदस्यको मृत्युमा राहत सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।

पछिल्लो कार्यसमितिले २०७५ लाई म्याग्दी भ्रमण वर्षको रूपमा मनाएको, बेनी नगरपालिका र म्याग्दी प्रवासी संघ (मोना)सँग समन्वय गरेर बेनी–लभ्लीहिल पदमार्ग बनाएको, संघको भवनमा जडीबुटी संकलन केन्द्र बनाएको छ ।

संघअन्तर्गत मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकास्तरीय बजार एकाइ समितिसमेत गठन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय