काठमाडौं– नाटकको उत्सवहरुको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिरको ९ गतेदेखि हुने भएको छ ।

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव’ नारासाथ ९ दिनसम्म चल्ने महोत्सवका देश विदेशका २३ नाटक मञ्चन हुनेछ । साथै विभिन्न अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला, कला प्रदर्शनीहरु हुनेछन् ।

महोत्सवमा आवेदन परेकामध्येबाट ५ नेपाली नाटकसहित १६ देशका २३ वटा नाटक छानिएको आयोजकले जनाएको छ । मण्डला थिएटर नेपालले आयोजना गर्ने ९ दिवसीय नाट्य महोत्सवको सोमबार घोषणा कार्यक्रम तथा पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरिएको हो ।

मण्डला नाटकघर थापागाउँमा हुने महोत्सवमा नेपाललगायत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्नेछन् । साथै भारत, उरुग्वे, कम्बोडिया आदि देशका प्रसिद्ध कलाकार तथा अभियन्ताले कार्यशाला तथा तालिम सञ्चालन गर्ने महोत्सवका निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष सिर्जना सुब्बाले जानकारी दिइन् । महोत्सवका लागि २३ देशका कुल ८५ वटा नाटकले आवेदन दिएका थिए ।

महोत्सव संयोजक विजया कार्कीले महोत्सवबारे जानकारी गराउँदै ५ नेपाली नाटकमध्ये मण्डलाले हाल सञ्चालन गरिरहेको नाटक लेखन परियोजना २०२२ बाट छानिएका उत्कृष्ट नाटकलाई महोत्सवको समापन सत्रमा मञ्चन गरिने जानकारी दिइन् । उनले भनिन्, ‘महोत्सवमा नेपाली नाटकले आधुनिक रंगमञ्चमा मौलिक कथावाचन शैलीका आयाम देखाउनेछ भने विदेशी नाटकले त्यहाँका समसामयिक सामाजिक—राजनीतिक विषय लिएर आउनछेन् ।’

कार्यक्रममा मण्डला थिएटरका संस्थापक अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सव नेपाली रंगमञ्चको विकास र समृद्धिका लागि एक प्रयास भएको बताए । उनले ३ वर्षअघि धेरै नाट्य संस्था र नाटकघरसँग मिलेर आयोजना गरेको पहिलो महोत्सव सम्झँदै देशमा कला, साहित्य, संगीतलगायतका महोत्सवहरुको आवश्यकता रहेको औंल्याए ।

त्यस्तै अग्रज रंगकर्मी अनुप बरालले महोत्सवलाई शुभकामना दिँदै युवा पुस्ताले नेपाली रंगमञ्चमा देखाएको सक्रियता र यस्ता महोत्सवहरुले नेपाली रंगमञ्चको भविष्य निर्माण गर्दै जाने उल्लेख गरे ।

त्यस्तै कार्यक्रम सञ्चालकको रुपमा रंगकर्मी केदार श्रेष्ठले रंगमञ्च कलालाई जीवनतर्फ फर्काउने र जीवनलाई कलातर्फ फर्काउने ठाउँ रहेको कथन सम्झदै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सम्बन्ध र भावनाहरुको पनि महोत्सव रहेको उल्लेख गरे ।

महोत्सवले १ लाख रुपैयाँको इनोभेटिभ आइडिया अवार्डको पनि घोषणा गरेको छ । यस अवार्डका लागि रंगमञ्चसँग सम्बन्धित नाटक लेखन, निर्देशन, निर्माण तथा अनुसन्धानका लागि इच्छुकले अवधारणा पत्र पठाउन सक्नेछन् । जसमध्ये एक अवधारणालाई अवार्ड प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय