काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसमक्ष आग्र्रह गरेको छ । मन्त्री किरातीसँग सिंहदरबारमा बुधवार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।

मन्त्री किरातीलाई चेम्बरले बिभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । सुझाव पत्र पेश गर्दै अध्यक्ष मल्लले भने, ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ, ।’ मुलुकको अर्थतन्त्र संकुचित भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नेपालका महत्त्वपूर्ण पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रवर्द्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटरमाथिका ८ वटा हिमाल, पशुुपति, लुम्बिनीलगायत क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमै प्रर्द्धन गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रिय महत्त्वका स्मारक र विश्वसम्पदा सूचीमा परेका स्थललाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन कूटनीतिक पहल गर्न समेत अध्यक्ष मल्लले मन्त्री किरातीसमक्ष आग्रह गरे । यसैगरी नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाइन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्ब सुरु गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउन समेत उनले सुझाए । अध्यक्ष मल्लले भने, ‘भारतीय पर्यटकले नेपाल आउँदा भारु अधिकतम २५ हजार मात्रै साथमा ल्याउन पाउने सीमाका कारण पर्यटन व्यवसायले वाञ्छित लाभ पाउन सकेको छैन । यसलाई बढाएर कम्तीमा २ लाख ५० हजार लिएर आउन वातावरण सिर्जना गरिनुपर्छ ।’

मन्त्री किरातीसमक्ष चेम्बर पदाधिकारीले विदेशी पर्यटकलाई निश्चित समयका लागि भिसा निःशुल्क गर्नुपर्ने बताएका थिए ।
चेम्बर पदाधिकारीसँगको भेटमा मन्त्री किरातीले पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिसा सहज बनाउन योजना बनाइरहेको जानकारी दिए ।

उनले भने, ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिसा शुल्कदेखि हवाई भाडासम्म निकै महँगो पर्ने गरेकाले नेपाल आर्कषक गन्तव्य बन्न सकेको छैन । यसका लागि सहजीकरण सुरु गरेको छु ।’
उनले पर्यटन क्षेत्रको विकासका लागि थुप्रै सुधार आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय