काठमाडौं– चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९–८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्यांकअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँको व्यापार भएको छ ।

स्वदेशी चलचित्रतर्फ सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा हेमराज बिसीले निर्देशन गरेको ‘छक्का पञ्जा ४’ पहिलो स्थानमा छ । बोर्डको विवरणअनुसार ६ लाख २९ हजार ७५० टिकट बिक्री भएबापत ‘छक्का पञ्जा ४’ को १७ करोड ५२ लाख ९९ हजार १५९ ग्रस व्यापार भएको छ ।

हास्यकलाकारको समूहले टेलिशृंखलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरेका थिए । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृंखलालाई अगाडि बढाइरहेको छ ।

सर्वाधिक कमाइ गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी’ रहेको छ । शनिबार प्रदर्शनको सय दिन पूरा गर्ने चलचित्रको गत असार ३१ सम्म बोर्डको विवरणअनुसार ६ लाख १९ हजार २२१ टिकट बिक्रीबाट १७ करोड १७ लाख ९९ हजार १८ रुपैयाँको ग्रस व्यापार भएको छ ।

सर्वाधिक कमाइ गर्ने सूचीको तेस्रो स्थानमा सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको ‘प्रेमगीत ३’ रहेको छ । ‘प्रेम गीत’को तेस्रो शृंखलाका रूपमा ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । चलचित्रको नेपाली भाषामा २ लाख ६९ हजार ८०८ टिकट बिक्री भएबापत ७ करोड ७० लाख ३५ हजार ५५८ र हिन्दी भाषामा ८३ हजार १६९ टिकट बिक्री भएबापत २ करोड २७ लाख २९ हजार ८६७ रुपैयाँको ग्रस व्यापार भएको छ ।

चौथो नम्बरमा प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेको चलचित्र ‘महापुरुष’ छ । यसले २ लाख ४७ हजार ७२८ टिकट बिक्रीबाट ७ करोड ३८ लाख ९१ हजार ९२० रुपैयाँको ग्रस व्यापार गरेको छ ।

पाँचौं स्थानमा रहेको दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको चलचित्र ‘दुई नम्बरी’को १ लाख ४१ हजार ७१३ टिकट बिक्रीबाट ३ करोड ८४ लाख ७५ हजार ७७० रुपैयाँको ग्रस व्यापार भएको छ ।

छैटौं स्थानमा रहेको रामबाबु गुरुङले निर्देशन गरेका चलचित्र ‘फूलबारी’ को १ लाख २६ हजार ५४९ टिकट बिक्री भएको छ । त्यसबाट ३ करोड ५३ लाख २० हजार ४७९ को ग्रस व्यापार भएको छ ।

सार्वजनिक विवरणमा सर्वाधिक व्यापार गर्ने सातौैं स्थानमा रहेको ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिंगेदाउ’को १ लाख २२ हजार ३२७ टिकट बिक्रीबाट ३ करोड ४१ लाख १३ हजार २२३ ग्रस व्यापार भएको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्यांकले पनि दर्शकले स्वदेशी चलचित्रतर्फ मौलिक विषयवस्तुलाई रुचाएको प्रस्टिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय