काठमाडौं– काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाली चलचित्रमा जनयुद्धका सकारात्मक पाटाहरु जति आउन पर्ने हो त्यती आउन नसकेको बताएका छन् । ‘युद्धको सौन्दर्य र यसका अवयवहरुलाई खोतल्दै जनपक्षीय चलचित्र निर्माणमा लाग्नुपर्ने आजको आवश्यकता पनि हो,’ उनले भने । ‘सिनेमा भनेको समाज रुपान्तरणको एउटा यस्तो शक्तिशाली हतियार हो, जसले संसारका धेरै परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

काठमाडौंमा जारी सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) समापन समाहरोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले नेपालकै परिप्रेक्षमा पनि पञ्चायतविरुद्ध बनेका चलचित्र वा टेलीचलचित्रलाई लिन सकिने बताए ।’

बलिदान, आगोजस्ता चलचित्रले नेपाली समाजको एउटा वर्गको कथालाई पर्दामा उनार्ने काम मात्र नगरेर समाज हिँडिरहेको बाटो गलत छ भनेर सिंगो व्यवस्था विरुद्ध लाग्न प्रेरित पनि गरेको उनले सम्झिए । ‘पछिल्लो अवस्थामा रुपान्तरणको एउटा पाटो १० वर्षे जनयुद्ध र यससँग सम्बन्धित विषयका सिनेमाहरु निर्माण भइरहेका छन् र राम्रो स्थान पाइरहेका छन् । मेरो मन्त्रालय मातहाबाट यसको प्रवर्द्धनमा मैले खेल्न सक्ने भूमिकाप्रति सकारात्मक छु । ठोस् योजना सहित सहकार्य गर्छु ।’

तामाङले निफले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । महोत्सवमा वर्ल्ड प्यानारोमा फिचरमा छनोछ भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ‘वाइल्ड स्वान’ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ’लभ लाइट’ले ’माउन्ट एभरेस्ट’ अवार्ड जितेको छ ।

त्यस्तै, ‘आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमती अवार्ड जितेको छ । ‘द ट्रेकर, द वुल्फ एन्ड द मंकी किङ’ले जुरी स्पेसल मेन्सन अवार्ड जित्यो । ९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागी बनेको थियो । डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने ‘लाजरस पाथ’ले पायो ।

उत्कृष्ट राष्ट्रिय लघु फिल्म ‘एट एनोदर विन्टर’ले जितेको छ भने ’ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड उचालिन् । नेपाली फिचर फिल्म ‘बुलाकी’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्दा यही फिल्मबाट लक्षमण सुनारले उत्कृष्ट निर्देशक र अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्यो ।

त्यस्तै, फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ‘पखेटा’ले जित्यो । राजेश श्रेष्ठ र संकल्प भुजेलले ‘एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड उचाल्दा उत्कृष्ट अभिनेतामा भने विपिन कार्कीले ‘एक भागवत एक गीता’बाट अवार्ड प्राप्त गरे । फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ‘डेसान’ले अवार्ड पायो । उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्तले ‘बुलाकी’बाट अवार्ड उचालिन् । विश्वका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव भन्ने नाराको साथ केपी पाठकको अध्यक्षतामा हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय