काठमाडौं– भारतमा शनिबार कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । भिडियो सम्मेलनमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गरेको प्राप्त समाचारमा उल्लेख छ । यसलाई विश्वकै सबैभन्दा कोरोनाविरोधी ठूलो खोप अभियान भनिएको छ ।

अभियानअन्तर्गत सबभन्दा पहिला कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका व्यक्तिलाई खोप लगाउने मापदण्ड बनाइएको छ । एकजना सफाइकर्मीलाई पहिलो खोप दिइएको प्राप्त समाचारमा उल्लेख छ ।

अग्रपंक्तिका सेवा प्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारत सरकारको तयारी छ । खोप लगाउन देशभर तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सबै भर्चुअल माध्यमबाट एक अर्कासँग सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । शनिबार पहिलो दिन हरेक खोप केन्द्रमा सयजनाको दरले खोप लगाउन सक्ने जनाइएको छ ।

खोपका लागि एकीकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मीलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षबर्धनले जानकारी दिएका छन् । उनले कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुलाई कोरोनाको अन्त्य नै सुरु भएको रुपमा लिएका छन् ।

अर्को चरणमा ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदण्ड बनाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । बृद्धबृद्धाहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने र संक्रमित भइसकेपछि जित्न पनि गाह्रो हुने भएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको अधिकारीहरुले जनाएका छन् ।

उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।
भारतमा दुई प्रकारका खोप लगाउन सरकारले अनुमति दिएको छ । ३ जनवरीमा खोप लगाउन अनुमति दिने निर्णय सरकारले गरेको थियो । भारत बायोटेकले बनाएको कोभ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिसिल्ड प्रयोग गर्न सरकारले अनुमति दिएको हो ।

खोप अभियान उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीविरुद्धको लडाइँमा भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको जनाए ।

‘यति धेरै जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसले महामारीसँग लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्यून छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय