‘रमरम मरौटी
तिम्रो रुपै करौंती…’

युट्युब, टिकटक लगायत अन्य माध्यममा यो गीत त धेरैले सुनेका छन् तर यसमा प्रयोग भएको शब्द मरौटीबारे भने धेरैलाई थाहा छैन । भिडियो बनाएर टिकटकमा ‘सेयर’ गरिरहेका नयाँ पुस्ता त यस विषयमा झनै अनविज्ञ हुनुपर्छ । युट्युबमा सार्वजनिक भएको तीन सातामै ५० लाख भ्यूज कमाउन सफल गीतमा प्रयोग गरिएको मरौटी खासमा के हो त ?

गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतमा प्रयोग भएको मरौटी औषधीय गुण भएको एक वनस्पति हो ।

स्वास्थ्य रक्षाका लागि क्रियाशील आयुर्वेद समाजका अध्यक्ष रमाकान्त सापकोटाका अनुसार मरौटीको जरा, डाँठ, पात, फल र फूल सबै आयुर्वेदिक आषैधिमा प्रयोग हुन्छ ।

मरौटीलाई जनबोलीमा मरहट्टि र भुइँ टिमुरसमेत भनेर चिनिने गरेको उनले सुनाए । ‘मरौटी हल्का पिरो, टर्रो र रमरम स्वादको हुन्छ,’ सापकोटाले भने, ‘महाराष्ट्रिय सोरसलगायत आयुर्वेदिक औषधिमा यसको प्रयोग हुन्छ ।’

खोकी, शरीर, दाँत दुखाइ, मुखमा घाउ, खटिरा आउने जस्ता समस्यामा मरौटीको प्रयोग लाभदायी हुने उनको भनाइ छ । स्वासप्रस्वास र पाचन प्रणालीलाई पनि मरौटीबाट बनेको आयुर्वेदजन्य औषधिले फाइदा गर्ने सापकोटाले बताए । घरगाउँमा पेट, दाँत दुख्दा, अपच हुँदा र रुघाखोकी लाग्दा मरौटी खाने चलन छ । सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापाले मरौटी बहुउपयोगी वनस्पति भएको बताए । ‘औषधि र मसलाजन्य दुवै गुण मरौटीमा पाइन्छ,’ उनले भने, ‘खाना स्वादिष्ट बनाउन भान्सामा पनि यसको प्रयोग हुन्छ ।’

अचार र चटनीमा राख्दा मरौटीले अझ बढी स्वाद थप्छ । आयुर्वेदको तयारी औषधिबाहेक घरायसी विधिबाट पनि मरौटीको प्रयोग गर्न सकिन्छ । झोल बनाएर खान सकिने र शरीर दुखाइमा पात, जरा दलेर पनि घरेलु उपचार गर्न सकिने आयुर्वेद चिकित्सक बताउँछन् । व्यावसायिक खेती नभएकाले ग्रामीण भेगमा फाट्टफुट्ट मात्र मरौटीको वनस्पति भेटिने गरेको थापाको भनाइ छ । उनले जंगलमा पाइने मरौटीलाई ‘वन मरौटी’ भन्ने गरिएको बताए । त्यो घरमा हुनेभन्दा केही मसिनो हुन्छ । आयुर्वेदीय गुण भने त्यसमा पनि उत्तिकै हुन्छ ।

मरौटी धेरै फलेमा टिपेर सुकाएर भण्डारण पनि गर्न सकिन्छ । झट्ट हेर्दा फूलझैं देखिने मरौटीको फल सुकेर झरेपछि त्यसैबाट नयाँ बिरुवा पलाउँछ । मरौटीको व्यावसायिक खेती गर्न सके किसानको आयआर्जन बढ्ने धनवन्तरी स्वास्थ्य सहकारी संस्था लिका अध्यक्ष सापकोटाले बताए ।

खोजी र संरक्षण नभए मरौटी लोप भएर जाने खतरा रहेको उहाँको भनाइ छ । गुणकारी वनस्पति सम्झाइदिने गीत ‘रमरम मरौटी’ मा कलकार पूजा शर्मा र ओवी रायमाझीको अभिनय छ । तीन साताअघि ‘ओवी रायमाझी’ युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय