काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि मानिसको ज्यान लिइरहेकोले यसलाई कमजोर नआँक्न चेतावनी जारी गरेको छ ।

हालैका अध्ययनले ओमिक्रोनले अन्य भेरिअन्टभन्दा कम मात्रामा मात्रै संक्रमितलाई अस्पताल पुर्याउने देखिएको जनाएका छन् ।
तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै संख्यामा मानिस संक्रमित हुँदा स्वास्थ्य प्रणाली धेरै दबावमा परेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य संगठनले गत साता विश्वभर संक्रमणको संख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा १०० प्रतिशतले बढेको जनाएको छ ।

विश्वभरका गम्भीर संक्रमणको घटनामध्ये ९० प्रतिशत संक्रमितले कोभिड खोप नलगाएको पनि डब्ल्यूएचओले बताएको छ ।

‘डेल्टाभन्दा ओमिक्रोन विशेषगरी खोप प्राप्त गरेका व्यक्तिमा कम घातक देखिएको भए पनि यसको आधारमा त्यसलाई कम जोखिमयुक्त भनेर वर्गीकरण गर्नु हुँदैन,’ बिहीवार डब्ल्यूएचओ प्रमुखले भने ।

‘पहिलेका भेरियन्टले जस्तै ओमिक्रोनले मानिसलाई अस्पताल पुर्याउने र मार्ने गरिरहेको छ ।’ ‘वास्तवमा संक्रमणको सुनामी यति विशाल र तीव्र छ कि विश्वभरिका स्वास्थ्य प्रणालीलाई दबाव परेको छ ।’

संक्रामक

कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट अत्यधिक संक्रामक छ र यसले पूर्ण मात्रा खोप लगाएका मानिसलाई पनि संक्रमण गर्न सक्छ । यद्यपि संक्रमण भएकालाई गम्भीर अवस्थामा पुगेर अस्पताल भर्ना भएर उपचार गराउनु पर्ने स्थिति रोक्न खोपले काम गरिरहेको बताइन्छ ।

बिहीवार बेलायतले कोरोनाभाइरसका थप एक लाख ७९ हजार ७५६ संक्रमण र २३१ मृत्यु पुष्टि गरेको छ । त्यहाँका केही अस्पतालले कर्मचारी बिदामा भएको र कोभिडका दबावका कारण अवस्था गम्भीर भएको बताएका छन् ।

अन्यत्र पनि अस्पताल पुग्ने बिरामी बढिरहेका छन् । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले जनवरी महिना देशका अस्पतालका लागि कठिन हुने बताएका छन् ।

उनले डेल्टा भेरियन्टबाट संक्रमितले आइसीयूको बेड ओगटेको र ओमिक्रोनका संक्रमितले अस्पतालका अन्य बेड ओगटिरहेको बताएका छन् । फ्रान्समा बिहीवार थप दुई लाद ६१ हजार संक्रमण पुष्टि गरिएको थियो ।

सर्बियाका राष्ट्रपति एलेक्सान्डर भुचिचले त्यहाँको स्वास्थ्य प्रणाली कडा दबावमा रहेको बताएका छन् । त्यहाँ बिहीवार ९ हजार नयाँ संक्रमण पुष्टि गरिएको थियो ।

बिहीवार डब्ल्यूएचओका डा.टेड्रोसले गरिब राष्ट्रमा खोप पुर्याउन यसको समुचित विवरणको सुनिश्चितामाथि पुनः जोड दिएका थिए ।

उनले अहिलेकै दरले जाँदा जुलाईसम्म ७० प्रतिशत नागरिकलाई खोप दिने डब्ल्यूएचओको लक्ष्यलाई १०९ देशले भेट्टाउन नसक्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय