काठमाडौं– अख्तियार दुरुपयोग अनुसनधान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रमहरुको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ । आयोगका अनुसार, त्यसरी प्राप्त भएको घुस रकमबाट संयुक्त रुपमा सम्पत्ति खरिद गरेको पाइएको छ ।

निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा समावेश भई विभागले गरेको ठेक्का सम्झौता मध्ये कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको ठेक्कामा ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ घुस लिएको आयोगको आरोप छ ।

भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एवम् सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरेको पाइएको आयोगले जनाएको छ । गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने रुपान्तरण तथा हस्तान्तरण गर्ने गराउने कार्य गैरकानुनी कार्य भएको ठहर गरिएको छ ।

पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठ र सहायक पथप्रदर्शक अधिकारी विरुद्ध समान ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर