दोलखा– नेपालको स्विजरल्याड भनिने दोलखाको जिरी बजारसम्म पुग्ने सडकको चरिकोट–नाम्दुबजार खण्डको कालोपत्रे सकिएको छ । यो खण्ड २२ किलोमिटर छ ।
सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर टाढा रहेको जिरी पुग्न साँघुरो तथा घुमाउरो सानो सडक सुधार गर्ने क्रममा चरिकोटबाट तामोकोसी खण्डका े२२ किलोमिटर कालोपत्रे सकिएको निर्माण कम्पनीले जनाएको छ । चरिकोटबाट १७ किलोमिटर तामाकोसी बजार र त्यसपछि नाम्दु बजारसम्म पाँच किलोमिटर गरी २२ किलोमिटर कालोपत्रे गरिएको हो ।
कम्पनीका अनुसार चरिकोट–जिरी सडक खण्डअन्तर्गत सडक चौडा पारी कालोपत्र गर्ने काम ६६ प्रतिशत भइसकेको जनाएको छ । अबको केही महिनामै बाँकी कालोपत्रेको काम सकिने गरी तीव्र रूपमा भइरहेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए । लामाका अनुसार केही महिनाभित्रै चरिकोटबाट जिरीसम्म सडक मर्मत सुधार भई भिमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा आन्तरिक, बाह्य पर्यटक तथा आगन्तुकलाई सहजरूपमा आवतजावत गर्न सकिने बताए ।
चरिकोटबाट जिरीसम्म ५५ किलोमिटर सडक मर्मत सुधार गरी कालोपत्र गर्नेसम्मको काम २०७८ भदौसम्म सम्पन्न गर्ने गरी भारतको उडहिल इन्फ्रास्ट्रक्चर लिमिटेड कम्पनी र नेपालका लामा कन्सट्रक्सन कम्पनी लिमिटेडले संयुक्त रुपमा ठेक्का पाएको थियो । हाल सडक खन्ने, चौडा बनाउन, ग्याबिन पर्खाल र नाला बनाउने काम तीव्र रूपमा अगाडि बढ्दै गइरहेकाले ६६ प्रतिशत काम सकिएको लामा कन्सट्रक्सन कम्पनीका प्रबन्धक रवीन्द्र श्रेष्ठले बताए । गाह्रो र अप्ठेरो ठाउँमा गर्नुपर्ने ग्याबिन जाली, सडक चौडा गर्ने काम, कल्भर्ट निर्माण तथा ग्राबेल गर्ने काम धमाधम भइरहेकाले निर्धारित समयमै काम सकिने उनको भनाइ छ ।
‘यसै रफ्तारमा काम भएमा समयमा नै काम सक्नेमा कुनै शङ्का छैन, हामी ढुक्क छौ,’ श्रेष्ठले भने । कुनै स्थानमा भिर काट्नुपर्ने र सानो सडकलाई चौडा गर्नुपर्ने निकै कठिन तथा भिरमा जाली राख्नुपर्ने जस्ता काम सकिएको र अब सजिलो काम मात्रै बाँकी रहेकाले आगामी वर्ष यो काम सम्पन्न गर्न सकिने कम्पनीले जनाएको छ ।
मुडेबाट चरिकोट र चरिकोट बजारसम्मका २६ किलोमिटर सडक कालोपत्रे भइसकेको पछि चरिकोट–तामाकोसी हुँदै जिरीसम्मको सडक मर्मत सुधार भई आवतजावतमा सहज भएमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनीय वृद्धि भई कालिञ्चोक भगवती मन्दिर, भिमेश्वर मन्दिर, जिरी बजार, च्छ्योरोल्पा हिमताल जस्ता धार्मिक तथा सांस्कृतिक महत्त्वको स्थानमा पुग्न सहज हुनेछ ।