काठमाडौं– कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् ।

सञ्चारविज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२.२, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले घटेको देखाएको छ । समाचार ग्रहणका लागि यी माध्यमको प्रयोग मानिसले अनिवार्य नभई आक्कलझुक्कलरूपमा गर्न थालेको पाइएको छ ।

यद्यपि समसामयिक सूचना र आएका सूचनाको विश्वसनीयताका दृष्टिले यी माध्यमको औचित्य कायमै रहेको देखिएको छ । सामाजिक सञ्जाल प्रयोग बढे पनि मानिसहरू त्यहाँ आउने सूचनालाई भरसक विश्वास गरिहाल्दैनन् ।

मुलुकभरका १८ वर्ष उमेरमाथिका ५ हजार ५८२ जना बीच स्थलगत अध्ययनका आधारमा ‘सेयरकास्ट इनिसिएटिभ नेपाल’ले प्रकाशन गरेको ‘नेपाल मिडिया सर्भे, २०२२’ले केही त्यस्ता रोचक तथ्यहरू उजागर गरेको छ, जसले सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूको प्रयोग, विश्वसानीयता र सञ्चार उद्यमी तथा सञ्चारकर्मीका लागि भावी लक्ष्य कोर्न बाटो देखाइदिएको छ ।

अध्ययन प्रतिवेदनअनुसार सर्भेक्षणमा सहभागीमध्ये रेडियो प्रयोग गर्नेको संख्या ४५.२ प्रतिशत छ । त्यसैगरी ४८.५ प्रतिशतले टेलिभिजन, ६३ प्रतिशतले मोबाइल र इन्टरनेट र ३० प्रतिशतले अनलाइन न्यूज पोर्टल प्रयोग गर्छन् । पत्रिका प्रयोग गर्नेको संख्या १५ प्रतिशत छ ।

सोही संस्थाले सन् २०२० मा गरेको यस्तै प्रकारको अध्ययनको तुलनामा रेडियो, टेलिभिजन र पत्रपत्रिका प्रयोगकर्ता घटेका छन् भने मोबाइल र सामाजिक सञ्जालको प्रयोगकर्ता बढेका छन् । अध्ययनले रेडियो र टेलिभिजन सेटबाट नभई इन्टरनेटको प्रयोगबाट मोबाइलबाटै रेडियो सुन्ने र टेलिभिजन हेर्नेहरू पनि बढिरहेका छन् ।

सूचना तथा प्रसारण विभागको अभिलेखअनुसार देशभरबाट आव २०७–÷७८ सम्ममा दर्ता भएका पत्रपत्रिकाको कुल संख्या ७ हजार ८७४ रहेको छ । यीमध्ये काउन्सिलको वर्गीकरणमा करिब १ हजार पर्ने गरेका छन् । पछिल्लो समयमा पत्रपत्रिकाको उत्पादन संख्या घट्न थालेको छन् । पत्रपत्रिकाले अनलाइन संस्करणबाट आफ्ना पाठकलाई जोड्न थालेका छन् । दूरदराजमा पत्रपत्रिकको उपलब्धता नहुने भएकाले तथा आफ्नो पेसा व्यवसायका कारण समय दिन नसकिने हुँदा पत्रपत्रिका पढ्ने प्रवृत्ति घटेको देखिएको छ ।

कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानका विचारमा उक्त अध्ययनको विश्लेषण उत्साहजनक नभए पनि विश्वनीयताका दृष्टिमा पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई कायमै राखिएकाले निराशाजनक छैन । उनले अहिले नयाँ पुस्ता कस्ता सामग्री चाहन्छन् र उनीहरुको रुचि के छ भनेर सामग्री उत्पादन गर्न सक्ने हो भने परम्परागत सञ्चारमाध्यमको अझै औचित्य रहने बताए । प्रेस काउन्सिल नेपालमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरूको पछिल्लो आँकडा ३ हजार ६२४ पुगेको छ ।

काउन्सिलको ४८औं वार्षिक प्रतिवेदनले पनि सञ्चारमाध्यमलाई सामाजिक सञ्जालका कारण चुनौती थपिएको स्पष्ट उल्लेख गरेको छ । ‘आमसर्वसाधारण नागरिक कुन मिडिया हो, कुन सामाजिक सञ्जाल हो, को पत्रकार हो र को होइन भनेर छुट्याउन सक्ने अवस्थामा छैनन् । आमसञ्चारका सबै क्षेत्रलाई समेट्नु र नागरिकको विश्वास बढाउनु आजको आवश्यकता हो । एउटै सञ्चारमाध्यमको समाचार पढेर, सुनेर, हेरेर नागरिकले धारणा बनाउन सकिरहेका छैनन् । किनभने तथ्यमै फरक पारिएको हुन्छ ।’

सो अध्ययन र विश्लेषणमा मधु आचार्यको नेतृत्वमा डा भूमिराज चापागाईं, डा सुधाम्शु दाहाल, कुन्द दीक्षित र रमेशप्रसाद अधिकारी संलग्न थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय