काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीले सामाजिक सुरक्षा कोषबाट बाहिरिने चेतावनी दिएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघले शनिबार एक विज्ञप्ति जारी गरी तत्काल सामाजिक सुरक्षा कोष ऐन, नियमावली र कार्यविधि संशोधन गरेर साबिकको सुविधा नघट्ने ग्यारेन्टी नगरे कोषबाट बाहिरिने चेतावनी दिएको हो ।

‘विगतदेखि नै राम्रो र आकर्षक सामाजिक सुरक्षा पाइरहेका हामीले सामाजिक सुरक्षामा आवद्ध भइसक्दा समेत सामाजिक सुरक्षा कोषले ऐन संशोधन गरी हाम्रा सेवा सुविधा नघट्नेतर्फ ध्यान नदिइएकोले अब उप्रान्त सो योगदानलाई निरन्तरता गर्न नसकिने अवस्था सामाजिक सुरक्षा कोषले सिर्जना गरिरहेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्य संस्थालाई क्षतिपूर्ति दिन निर्देशन दिने तर स्वयंले कोषमा आवद्ध संस्थालाई क्षतिपूर्ति नदिएकोले कोषमा निरन्तरता दिन नसक्ने नसकिने अवस्था सिर्जना भएको छ ।’

कोषमा आबद्ध सूर्य लाइफ इन्स्योरेसका कर्मचारी दुर्घटनामा परेर उपचार भइरहे पनि हालसम्म कोषले क्षतिपूर्ति नदिएको संघको भनाइ छ । त्यस्तै स्थिति सोल्टी होटलका कर्मचारीको हकमा पनि देखिएको संघको भनाइ छ । सोल्टी होटल सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि त्यहाँका कर्मचारीको मृत्यु हुँदा क्षतिपूर्ति नदिएको घटनाले सामाजिक सुरक्षा कोषप्रति थप अविश्वास पैदा भएको संघका अध्यक्ष हरिबहादुर खडकाले गुनासो गरेका छन् ।
कोषको कार्यविधि अनुसार चल्दा कर्मचारीले कम्पनीबाट पाइरहेको सुविधा घट्ने खड्काको भनाइ छ । उनका अनुसार कम्पनीले २२ सय रुपैयाँ भुक्तानी गर्दा परिवारका

चारजनाको स्वास्थ्य बिमा हुने र नेपालको जुनकुकै अस्पतालमा उपचार गराउन सकिने तथा सोबापत अधिकतम एक लाखसम्म खर्चको सोधभर्ना पाउने व्यवस्था छ तर कोषमा ६ हजार भुक्तानी गर्दा सम्बन्धित कर्मचारीको मात्र स्वास्थ्य बिमा हुने र कोषले तोकेको अस्पतालमा मात्र उपचार गराउनुपर्ने साथै सोबापत अधिकतम ८० हजार रुपैयाँसम्म मात्र पाउने व्यवस्था छ ।

कोषमा आवद्ध नहुँदा सञ्चयकोष, उपदान तथा थप योगदानबापत जम्मा भएको सम्पूर्ण रकममा ९० सम्म ऋण पाइने तर सामाजिक सुरक्षा कोषबाट कर्जा लिन तीन वर्ष योगदान गरेको हुनुपर्ने र उपदान (८.३३ प्रतिशत) को ८० प्रतिशत मात्र कर्जा दिने व्यवस्था रहेकोमा पनि प्राइम लाइफका कर्मचारीले आपत्ति जनाएका छन् ।

त्यसैगरी, कोषमा आबद्ध नहुँदा कर्मचारीको पति वा पत्नी वैकल्पिक रोजगारीमा रहेको अवस्थामा समेत योगदान गरेको सम्पूर्ण रकम तथा त्यसको प्रतिफल समेत निजको हकवालाले प्राप्त गरिरहेको तर सामाजिक सुरक्षा कोष कार्यविधिको दफा २४ (ग) अनुसार योगदानकर्ताले निवृत्तिभरण प्राप्त गर्न थालेपछि १८० महिना निवृत्तिभरण नपाउँदै निजको मृत्यु भएमा निजको पति वा पत्नीको वैकल्पिक रोजगारी भएमा केही पनि नपाउने अवस्था आउने गुनासो संघले गरेको छ ।

संघका अनुसार प्राइम लाइफका कर्मचारीले उपदान बापत कर्मचारीको प्रतिवर्ष दुई महिनासम्मको तलब पाउँछन् । तर कोषको दफा १९ को व्यवस्था अनुसार उपदान बापत रोजगारदाताले प्रतिमहिना तलबको ८.३३ प्रतिशतभन्दा बढी दिन सक्ने स्पष्ट नभएकोले लामो सेवा अवधि भएका कर्मचारी हालको कर्मचारी विनियमावलीमा तोकिएको थप सुविधाबाट वञ्चित हुन सक्ने संघले औंल्याएको छ ।

प्राइम लाइफका कर्मचारीले उमेर ६० वर्ष नपुगी अवकाश लिएमा वा जुनसुकै कारणले रोजगारीको अन्त्य भएमा त्यही बेला सञ्चयकोष तथा उपदानबापत जम्मा भएको सम्पूर्ण रकम तथा सोको प्रतिफल समेत एकमुष्ठ फिर्ता पाइरहेका छन् । तर आगामी साउन १ गते वा सोपछि योगदान गर्ने कर्मचारीको हकमा कर्मचारीको २० प्रतिशत निवृत्तिभरण योजनामा गरेको योगदानको रकमलाई योगदानकर्ता ६० वर्ष पूरा भएपछि १६० महिनाले भाग गरी आउने रकमलाई प्रतिमहिना निजलाई निवृत्तिभरण बापत प्रदान गरिने र उपदानबापतको ८.३३ प्रतिशत मात्रै एकमुष्ठ फिर्ता पाउने व्यवस्था रहेकोमा संघको असहमति रहेको छ ।

त्यस्तै, पेन्सनमा जाने कर्मचारीको निजले योगदान गरेको रकमको ब्याजमात्र पेन्सन बापत फिर्ता हुने, साँवा रकम फिर्ता नहुने अवस्था देखिएको संघको भनाइ छ ।
जम्मा गरिएको अवकाश रकममा अवकाश कोषहरुले बजारमा प्रचलित ब्याजदर अनुसारको प्रतिफलको निश्चितता गरेको तर कोषले प्रतिफलमा प्रदान गर्ने ब्याजदर स्पष्ट नगरेकोमा पनि संघले आपत्ति जनाएको छ ।

नेपाल सरकारले २०७५ मंसिर ११ गते औपचारिक, अनौपचारिक तथा निजी क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक र सामाजिक जोखिम न्यूनीकरण गर्ने उद्देश्य राखी श्रमिकको लागि नयाँ युगको सुरुआत भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको थियो । संघले आकर्षक सुविधा पाइरहेका संस्थालाई जबरजस्ती गर्नुको सट्टा यस योजनाको परिकल्पना अनुसार सामाजिक सुरक्षाको न्यूनतम सुविधाबाट वञ्चित लाखौं श्रमिक, कामदार र कर्मचारीलाई समेट्न पनि संघले सुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय