काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबार बैंक, वित्तीय संस्थाका लागि जारी गरेको निर्देशनका बुँदाले बोनस सेयरलाई प्रोत्साहन गर्ने नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताएका छन् ।

पौडेलले सोमबार आफ्नो फेसबुक वालमा एउटा स्टाटस राख्दै यस्तो अनुमान गरेका हुन् । उनले बैंक तथा वित्तीय संस्थाले आर्जित नाफाबाट सरकारलाई बुझाउने लाभांश करबाहेक सकेसम्म संस्थाबाट नगद बाहिर नजाओस् भन्ने मनसायले नगद लाभांश व्यवस्थाले सम्भवतः पूर्ण रुपमा नगद लाभांशलाई निरुत्साहित गरेकोले बोनस सेयरलाई प्रोत्साहन गरेको देखिने उल्लेख गरेका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्ष २०७७–०७८ को कुल वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश घोणा र वितरण गर्न रोक लगाएको छ । तर, त्यस्तो नगद लाभांश संस्थाको गत असार मसान्तमा कायम निक्षेपको औसत भारित ब्याजदरभन्दा बढी हुन नहुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
त्यसैगरी, खुद वितरणयोग्य मुनाफा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका बैंक, वित्तीय संस्थालाई कर प्रयोजनको लागि बाहेक नगद लाभांश वितरण गर्न रोक लगाइएको छ ।

लघुवित्त कम्पनीको हकमा २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा बाँकी रहेको रकममा ५० प्रतिशत थप प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था (साबिकमा २५ प्रतिशत) गरेको छ । यसले लाभांशमा केही कमी भए पनि संस्थाहरू थप मजबुत हुने पौडेलेको भनाइ छ ।

प्रत्यक्ष रूपमा हेर्दा ०.३० प्रतिशत थप कर्जा व्यवस्था गर्नुपर्ने प्रावधानले वितरणयोग्य नाफामा असर पर्ने देखिए पनि यसै निर्देशनले व्यवस्था गरेको थप सुविधा असार मसान्तसम्म पाकेको उठ्न बाँकी ब्याज रकम भदौ १५ गतेसम्म उठेमा ब्याज आम्दानी बाँध्न पाउने व्यवस्था, साबिकमा २५ प्रतिशतसम्म कर्जा व्यवस्था गर्नुपर्ने केही ऋण रकममा ५ प्रतिशतमात्र कर्जा नोक्सान व्यवस्था गरे हुने जस्ता प्रावधानले वितरणयोग्य नाफालाई खासै असर नपर्ने नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्षसमेत रहेका पौडेलको बुझाइ छ ।

‘यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई असार मसान्तसम्मको उठ्न बाँकी ब्याज उठाउन प्रेसर पर्नेछ भने थप प्रोभिजनले संस्थालाई थप मजबुत हुने बताउने छ । कोभिडका कारण मर्कामा परेका व्यवसायीको ऋणमा गर्नुपर्ने ६ प्रतिशतको प्रोभिजनले केही हदसम्म ऋणीलाई समेत राहत (निरन्तर हुने ताकेता) हुनेछ,’ उनले लेखेका छन् ।

समग्रमा राष्ट्र बैंकको सोमबारको निर्देशनले ‘बैंक, वित्तीय संस्थालाई थप मजबुत बनाउने र पुँजी बजारका लगानीकर्ताको लागि बैंक, वित्तीय संस्थाको लगानी अझै सुरक्षित भएको महसुस भयो,’ पौडेलले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर